• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

श्रीलंका भन्दा तीव्र गतिमा आर्थिक संकटमा फस्दै नेपाल !

  • खबरदाता

श्रीलंका भन्दा तीव्र गतिमा आर्थिक संकटमा फस्दै नेपाल !

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम ऊर्जा संकट, अत्यधिक मूल्यवृद्धि, औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभाव

चैत  ३०,२०७८

आर्थिक संकटका कारण टाँट उल्टिन लागेको श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने भन्दै मंगलबार हात उठाएको छ । उसले ऋण दाता देश र साहुहरुसमक्ष ब्याजलाई साँवामा रुपान्तरण गर्नका लागि पनि आफ्नो तर्फबाट अग्रिम सहमति दिएको छ ।

श्रीलंकाले विभिन्न देश र निजी कम्पनीहरुसँग लिएको ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण तत्काल तिर्नुपर्नेछ । कुल विदेशी ऋण भने २ खर्ब डलर छ । श्रीलंकाले आर्थिक संकटमा परेका बेला स्थितिलाई थप खस्किन नदिन सरकारले अन्तिम उपायका रूपमा विदेशी ऋण नतिर्ने आपतकालीन घोषणा गरेको अन्तर्राष्ट्रिय हो । त्यहाँको अर्थ मन्त्रालयले ऋणको साँवा मात्र होइन, ब्याजसमेत भुक्तानी गर्न असर्थ रहेको जनाएको छ । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम ऊर्जा संकट, अत्यधिक मूल्यवृद्धि, औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभाव छ । आक्रोशित नागरिक सरकारविरुद्ध सडक संघर्षमा छन् ।

श्रीलंकाले भोगेको यो अवस्थासँग तुलना गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमबार असन्तोष प्रकट गरेका थिए । साथै उनले अर्थतन्त्र ठीकठाक रहेको तर्क पनि गरेका थिए । तर मन्त्री शर्माका सबै तर्कलाई गलत सावित हुने गरी मंगलबार मात्र नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्थासम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसमध्ये धेरै सूचकहरुमा नेपालको अवस्था श्रीलंकाको भन्दा पनि खराब देखिएको छ ।

श्रीलंकाको सार्वजनिक ऋण त्यहाँको कुल गार्हस्थ्य उत्पादनको ११९ प्रतिशत डिसेम्बरमै पुगिसकेको हो । यसमध्ये एक तिहाईभन्दा बढी ऋण विदेशका निजी कम्पनीको हो । विदेशी बैंक र कम्पनीलाई ऋणपत्र बेचेर विदेशी मुद्रामै उठाएको ऋण नै श्रीलंकालाई अहिले गलपासो भएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा झण्ड आधा हिस्सा भइसकेको छ ।

पछिल्लो ३ महिनामा श्रीलंकाको मुद्रा अमेरिकी डलरको तुलनामा ५८ प्रतिशत हाराहारी अवमूल्यन भइसकेको छ । नेपाली मुद्राको अवमूल्यन करिब ३ प्रतिशत छ । श्रीलंकामा खाद्य पदार्थको मूल्यवृद्धि २५ प्रतिशत नाघेको छ । खाने तेल लगायत केही यस्तै पदार्थको मूल्य नेपालमा २६ प्रतिशत बढेको मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ ।

श्रीलंका सरकारले स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा जनतालाई अधिक सुविधा दिँदै आएको थियो । कोभिडका बेला अरु केही कर छुट दिने कार्यक्रम ल्याएको थियो । नेपालमा आमनागरिकलाई यस्तो राहत वा सुविधा त छैन तर ठूला व्यापारीले नीतिगत चलखेल गरी भारी छूट र राजस्व छलीकोलाभ लिइरहेका छन् । यसले श्रीलंकाभन्दा खतरनाक अवस्थामा नेपाल रहेको देखाउँछ ।

श्रीलंकाको विदेशी मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन र निर्यात हो । पहिले कोभिडले र अहिले रुस–युक्रेन युद्धले यी दुवै स्रोत खुम्चिए पनि जुनसुकै बेला फैलिन सक्छन् । तर नेपालमा भने रेमिट्यान्स मात्र यस्तो स्रोत हो, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर अवस्थालाई भरथेग गरिरहेको छ । अब धान्नै नसक्ने आयातको आकडा अनि खुम्चिएको रेमिट्यान्स आप्रवाह नेपालको मुख्य चुनौती बनेको छ ।

नेपालको चालु खाता घाटा अर्थतन्त्रको ८ प्रतिशत नाघिसकेको छ भने श्रीलंकाको ४ प्रतिशत पनि पुगेको छैन । श्रीलंकाको निर्यातले ६१ प्रतिशतभन्दा बढी आयात धान्न सक्छ । तर नेपालको निर्यात १० प्रतिशत पनि छैन । श्रीलंकाको व्यापार घाटा जीडीपीको ११ प्रतिशत छ भने नेपालको अर्थतन्त्रको एक तिहाईभन्दा बढी व्यापार घाटा भइसकेको छ । यसले अन्तर्राष्ट्रिय व्यापारलाई थेग्ने सामर्थ्यमा श्रीलंकाभन्दा नेपाल ज्यादै कमजोर देखिन्छ ।

ऋण तिर्न ठूलो पैसा बाहिरिने भएकाले यसलाई मुलुकहरु टाट पल्टिने मुख्य कारणका मानिन्छ । त्यसमाथि पेट्रोलियम पदार्थको आयातमै सबै विदेशी मुद्रा सकिँदा औषधी र खाद्यान्न केले किन्ने भन्ने समस्या नेपाललाई पर्ने भएको छ । अझ चुनावको मुखमा मतदाता रिझाउन तीनै तहका सरकारले ल्याएका वितरणमुखी कार्यक्रम र आफ्नै सुविधा बढाउने कर्मचारी तथा नेताहरुको ध्याउन्नले देश श्रीलंकाभन्दा छिटो गतिमा टाट उल्टिने जोखिम बढेको छ ।

अहिलेको अवस्था समयमै सम्हालिएन भने अब यो आर्थिक विशृंखलताले राजनीतिक अस्थिरता निम्तिन सक्नेछ । यदि आसन्न चुनाव रोक्ने कुनै कारण बनेछ भने सबैभन्दा बलियो कारण आर्थिक अवस्था नै बन्नेछ र यसले संवैधानिक विशृंखलता पनि निम्त्याउन सक्नेछ ।

  • प्रकाशित मिति : चैत ३०, २०७८, बुधवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८