चैत २७, २०८०, मंगलवार
काठमाडौँ–गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट रु दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । उहाँले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गर्नुभएको छ ।
यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८