• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

सरकारकै बजेटमा पहिलो गैँडा गणना


सरकारकै बजेटमा पहिलो गैँडा गणना

विगतका गणनाहरु हेर्दा गैँडा बढेको देखिन्छ तर चालु आर्थिक वर्षको यो अवधिसम्म चितवनका २६ वटा गैँडा मरिसकेका छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयको समन्वय नमिल्दा गैँडा संरक्षणमा चुनौति थपिदै गएको छ । यी सहित अन्य के के कुराहरु गणनामा पत्ता लाग्छन् पर्खाइको विषय बनेको छ ।

केपी शर्मा-चैत ९, २०७७ ।

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको गणना कार्य सोमबार बाट सुरु भएको छ । नेपालको चार वटा राष्ट्रिय निकुञ्जबाट गैँडा गणनाको कार्यलाई निरन्तरता दिइने भएको छ । चितवनमा भएको एक कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले उक्त गणना कार्यको उद्घाटन गरेका छन् ।

सोमवार विहान ९ : १५ बजे पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको उक्त गणना कार्यक्रम चितवनमा आई आधिकारिक उद्घाटन गरिएको हो । पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटामा मात्रै पाइने एक सिँगे गैँडाको गणनापनि सोही स्थानबाट गरिनेछ छ ।

चितवनमा पछिल्लो समय एक सिँगे गैँडाको संख्या पश्चिम क्षेत्रमा बढि पाइने र सोही स्थानमा प्राकृतिक प्रकोप र चोरी सिकारीबाट मृत्यु पनि बढि भएको पाइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले यसरी चोरी सिकारी हुनबाट बचाउनका लागि सुरक्षा निकाय तथा कर्मचारीहरुलाई लागि पर्न निर्देशन समेत दिएका छन् ।

उनले भने,“यहाँका सुरक्षा निकाय, कर्मचारी र स्थानीयको हरेक मेहनतले गर्दा अहिले सम्म एक सिँगे गैँडा देख्न पाइरहेका छौँ । र अझै पनि शसक्त रुपले तपाईहरु यसको बचावटमा लाग्नुहोस् । त्यसका लागि आवश्यक बजेट म उपलब्ध गराउनेछु ।” अव जेठ १५ आउने नयाँ बजेटमा यहाँको विषयमा छलफल गरेर पूर्ण रुपमा समेटिने समेत उनले बताए ।


कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेकाले यस क्षेत्रलाई आफूले पहिलो प्राथमिकतामा राखेको उनको भनाई थियो । उनले यस क्षेत्रमा पर्यटनका लागि प्रयोग गरिएका निजी हात्तीहरुका विषयमा पनि सरकार गम्भिर रहेको बताए ।

उनले निजी हात्तीहरुलाई यही व्यवस्थापन गर्न छलफल भइरहेको र सवै सँग यस विषयमा परामर्श गरेपछि यसलाई के गर्ने भन्ने ठोस निर्णयमा सरकार पुग्ने बताए । उनले भने,“निजी हात्तीहरु भारत लगेको कुरा आएको छ । तर त्यो कानूनी हिसावमा गलत छ । त्यसलाई यही व्यवस्थापन गर्न व्यसायिहरुले केही शुल्क तिरेर निश्चित अवधिका लागि सरकारले सक्दो सहयोग गर्छ ।”

सन् १९९४ मा पहिलो पटक सुरु गरिएको गैँडा गणना अहिले छैटौँ पटक चलिरहेको छ । यस अघि सन् २०००, २००८, २०११ र २०१५ मा गरी पाँच पटक गणनाको काम भइसकोको हो । तर सरकारको बजेट मार्फत पहिलो पटक यो गणना सुरु भएको हो ।

यसका लागि आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले १ करोड १० लाखको बजेट व्यवस्थापन समेत गरेको थियो । सो बजेटबाट आवश्यक सामाग्रीहरु केही मात्रामा खरिद पनि गरि सकिएको थियो । तर कोभिडका कारण गैँडा गणना एक वर्ष पछि धकेलिएपछि अहिलेको गणना चलिरहेको हो ।
आजदेखि सुरु भएको गणना चैतको मसान्तमा सक्ने र वैशाखमा नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । सन् २००० मा गरिएको गणना अनुसार नेपालमा कुल ६१२ वटा एक सिँगे गैडा रहेका थिए । यस्तै २००८ मा ४३५, २०११ मा ५३४ र २०१५ मा ६४५ गैँडा देशभर रहेका थिए ।

पछिल्लो गणना अनुसार ६४५ मध्ये ६०५ वटा गैँडाहरु चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेको तथ्याङ्कले देखाउँछ ।

  • प्रकाशित मिति : चैत ९, २०७७, सोमवार ११:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८