• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

काङ्ग्रेसको अब आफ्नै बाटोकि नेकपाको सहयोगी ?

  • खबरदाता

काङ्ग्रेसको अब आफ्नै बाटोकि नेकपाको सहयोगी ?

फागुन १७,२०७७

राजनीतिक दौडमा रहेका दलहरू कुनै समय कमजोर देखिए पनि लागिरहने र इमान्दार रहिरहने हो भने कुनै न कुनै समय राजनीतिको कन्द्रमा आउने सम्भावना भइरहन्छ ।

भारतमा आमआद्मी पार्टीले आफुलाइ जनताको नजरमा खरो उतार्नाले राजधानी दिल्लीजस्तो ठाउँमा विजय हासिल गर्न सफल भयो । नेपालमा पनि जनताको आकर्षणमा त्यति नपरेको राप्रपाले पहिलो संविधानसभा चुनावमा केही सिट जित्न सफल भएको थियो । तीन वर्षपहिले लगभग दुई तिहाई बहुमतका साथ सत्तारोहण भएको नेकपामा विभाजन आउँदा नेपाली कांग्रेस पुनः राजनीतिको कन्द्रविन्दुमा आइपुगेको छ । प्रजातान्त्रिक आन्दोलनमा अहम् भूमिका खेल्दै आएको जिम्मेवार दल कांग्रेससामू अहिले ठूलो जिम्मेवारी आएको छ ।

कांग्रेस अब विभाजित नेकपाका केपी ओली समूह वा दाहाल–नेपाल समूहको स्वार्थपूर्तिको गोटी बन्ने कि आफ्नै राजनीतिक बाटो बनाउने रु अहम् प्रश्नका बीच उभिएको छ ।आमनिर्वाचनमा कांग्रेसले २ सय ७५ सिटमा ६३ सिटमा मात्रै जित हात पारेपछि प्रमुख प्रतिपक्षी दलको हैसियत पाए पनि सरकारले उसलाई कुनै भाउ दिएको दिएन । बरु नेकपा नेताहरूको कटाक्षको पात्र बनिरह्यो ।

संसद्मा उसको अति सामान्य हैसियत भएकाले नेकपाको ओली सरकारले राष्ट्रिय महत्वका विषयमा पनि बेवास्ता गर्दै आएको थियो । सर्वोच्च अदालतले संसद् विघटनको मुद्दालाई बदर गरिदिएपछि भने कांग्रेस नेकपाका ओली र दाहाल–नेपाल दुवै समूहको आकर्षणमा परेको छ । केपी ओलीले संसद्मा उभिएर कटाक्ष गर्दै कांग्रेस कहाँ छ ? भने पनि कांग्रेस नेतृत्वको लोभी नजरका कारण सरकारका कमजोरी र गलत कामको पनि सशक्त विरोध हुन सकेन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले सभापति शेरबहादुर देउवालाई संवैधानिक नियुक्तिमा भाग दिने लोभमा आफ्ना कदमको विरोध नगर्ने अवस्थामा पुर्याइरहे ।

यही कारण संवैधानिक आयोगमा सभामुख र प्रतिपक्षी दलका प्रमुखको उपस्थिति बेगर पनि आफ्नो मनोमानी रूपमा नियुक्ति गर्न पाउने गरी अध्यादेश ल्याउँदा पनि कांग्रेसले दह्रो प्रतिक्रिया जनाउन सकेन । संसद्को उपाध्यक्ष स्वतः कांग्रेसले पाउनुपर्ने विषयमा पनि दह्रो अडान लिन सकेन । संवैधानिक आयोगमा देउवाले आफ्नो भाग लिएर बसे । उनले ओलीको कदमको दह्रो विरोध गर्न चाहेनन् । युवा नेताहरूको आवाज सशक्त नभएको भए देउवाले ओली संसद् विघटनको कदमलाई असंवैधानिक भन्न पनि हिच्किचाउने स्पष्ट देखियो ।

एक हिसाबले भन्दा कांग्रेस ओली महत्वाकांक्षको सहयोगी जस्तै बन्न पुग्यो ।अहिले भने कांग्रेसका नेताहरूले तत्कालै नेकपाको दुवै खेमाको पक्षमा नलाग्ने बताएका छन् । यसमा कांग्रेसभित्र एकमत देखिएको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि असंवैधानिक कदमको विरोध गर्ने कि अदालतको फैसलालाई पर्खेर चुनाव जाने भन्ने विषयमा युवा नेताहरूसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीचमा एकमत थिएन । कांग्रेसको अबको निर्णय भने देश र पार्टी दुवैका लागि महत्वपूर्ण हुनेछ । अहिले पनि ओली सरकारले कर्मचारी क्षेत्रमा व्यापक सरुवा गर्ने, कसैलाई जिम्मेवारीबाट निकाल्ने जस्ता कार्यको कांग्रेसले विरोध गरेको छैन । यसले पूरै कर्मचारी तन्त्रमा अस्थिर बनाउँछ तर पनि कांग्रेसको ध्यान जान सकेको छैन । विश्वासको मत लिएर परीक्षा दिनुपर्ने अवस्थामा रहेका प्रधानमन्त्रीले दीर्घकालीन प्रभाव पार्ने काम गर्दै जाँजा पनि बेवास्ता गर्नु राम्रो होइन ।

अब नेपाली कांग्रेस ओली पक्षबाट ठूलो भाग पाइएला वा दाहाल–नेपाल पक्षबाट ठूलो भाग पाइएला भन्नेमा लाग्यो भने उसको भविष्य खतरामा पर्ने निश्चित छ । लोकतन्त्र कमजोर हुनु भनेको कांग्रेसका लागि नराम्रो अवस्था हो । यो बेला कांग्रेसले जुन पक्षमा लागे पनि देश, संविधान र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने हुनुपर्छ । उसले जनताको आवजलाई पनि सुन्नु आवश्यक छ । नागरिक आन्दोलनलाई पनि बेवास्ता गर्नु कांग्रसका लागि ठूलो हानिको विषय हो ।

  • प्रकाशित मिति : फागुन १७, २०७७, सोमवार ००:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८