• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

देशभरका पालिकाहरुमा एकैपटक ३९४ अस्पताल शिलान्यास गरिँदै


देशभरका पालिकाहरुमा एकैपटक ३९४ अस्पताल शिलान्यास गरिँदै

मंसिर–७, २०७७

काठमाडौँ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुराउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मङ्सिर १५ गते ३९४ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ  । स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कात्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रवक्ता गौतमले भने, ‘‘अहिले शिलान्यास हुने अस्पतालहरू १५ शंैयाका हुनेछन्, अर्को वर्षसम्ममा ६४९ वटै स्थानीय तहमा १५ शैंयाको नै अस्पताल हुनेछ ।’’
‘‘निर्माण हुने आधारभूत यी अस्पताल मुख्यतः सम्बन्धित पालिकाहरूको हो, पालिकाहरूको समन्वयमा शिलान्यासको तयारी भइरहेको छ’’, उनले थपे, ‘‘कुन ठाउँमा कसले शिलान्यास गर्ने हो, त्यसको निर्णय सम्बन्धित पालिकाले नै गर्ने हो ।’’ सङ्घीय सरकारले उपलब्ध गराएको बजेटमा पालिकाले अस्पताल निर्माण गर्ने उनले स्पष्ट पारे । सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने स्वास्थ्यकर्मीलाई त्यही पालिका अस्पतालहरूमा पठाइने प्रवक्ता गौतमले जानकारी दिए ।

अस्पताल नभएका स्थानीय तहहरूमा अबको दुई वर्षभित्र ५, १० र १५ शैंयाका आधारभूत अस्पताल निर्माण गर्न अर्थ मन्त्रालयबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति प्राप्त भइसकेको छ । सोका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख रुपैयाँ बराबरको स्रोतसमेत सुनिश्चित गरिसकेको प्रवक्ता गौतमले बताए । यसअघि ६४९ स्थानीय तहमा पाँच शैंयाका आधारभूत अस्पताल निर्माण गर्न १० लाख रुपैंयाँका दरले रकम पठाइसकिएको जानकारी दिए ।

कोभिड–१९ को रोकथाम र उपचारका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायतका मेसिन उपकरण तत्काल खरिद गर्ने गरी तयार कार्ययोजना अनुसार खरिद प्रक्रिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अगाडि बढाउने र आवश्यक पर्ने स्रोत अर्थ मन्त्रालयले मिलाउने निर्णयसमेत अर्थमन्त्री र स्वास्थ्य मन्त्री सम्मिलित बैठकले निर्णय गरेको हो ।

त्यसैगरी कोभिड–१९ को रोकथाम र उपचारका लागि नागरिकलाई भविष्यमा दिनुपर्ने खोपको सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहयोगमा अगाडि बढाउने निर्णय बैठकले गरेको थियो । –गो.प.बाट

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ०१:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८