• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

एमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी !

  • खबरदाता

एमालेको शक्ति घटेको छैन, ओलीले मुख सम्हाल्नु जरुरी !

साउन  २५, २०७९

राजनीतिक दल र नेताहरुमध्ये को कति पानीमा छन् भन्ने थाहा पाउन भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन काफी छ ।

२०७४ को स्थानीय निर्वाचनमा २ सय ९४ तहको नेतृत्व सम्हालेको एमाले यसपालि २ सय ६ मा खुम्चिन पुग्यो । एकातिर पाँच दलीय गठबन्धन, अर्कातिर एमाले नै विभाजित भएको अवस्था । त्यसमाथि अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियताको ग्राफ ओरालो लागेको कारण एमालेले आफ्ना धेरै गढ मानिएका ठाउँ जोगाउन सकेन ।

वडाध्यक्षहरूको कुल मत जोड्दा पनि एमाले कांग्रेसभन्दा झीनो मतले अगाडि देखिन्छ । ३९ लाख ५६ हजार १९३ कांग्रेसले पाउँदा एमालेको मत ३८ लाख ११ हजार ६०२ मत छ ।एमालेको कमजोर क्षेत्र मधेस हो । यसपटकको स्थानीय निर्वाचनबाट मधेस प्रदेशमा एमालेको शक्ति केही बढेको छ । एउटै एमालेविरूद्ध पाँचपाँचवटा शक्तिको गठबन्धन, राज्यशक्तिको प्रयोग अनि आफैमा विभाजित अवस्थामा चुनावमा जाँदा पनि कांग्रेसलाई यसरी टक्कर दिन सक्नु भनेको एमाले नै यो देशको प्रमुख र सर्वाधिक ठूलो शक्तिका रुपमा अझै कायमै रहेको देखाउँछ । त्यसैले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि हुने चुनावमा एमाले सत्ता गठबन्धनको तालमेल वा अरु कुनै पनि कारणले डग्मगाउनुपर्ने कारण देखिँदैन ।

मधेश केन्द्रित दल लोसपा यतिबेला मझधारमा छ । सरकारमा जान खुट्टा उचालेकै बेला चुनाव घोषणा भएपछि अब सत्ता गठबन्धनसँग सहयात्राको सम्भावना करिब समाप्त भएको छ । त्यसैले उसका लागि पनि आउँदो चुनावमा अस्तित्व जोगाउन एमालेकै हात समाउनुपर्ने बाध्यता छ ।हुन त एकीकृत समाजवादी वा माओवादीसँग तालमेल गरेर जाने विषयमा पनि दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ। तर सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा मिलेको खण्डमा त्यो सम्भावना निकै क्षीण छ । यद्यपि सूर्य चिन्हमा भोट माग्ने बानी परेकाहरु अब चुनावको मुखमा एमालेमै फर्किने सम्भावना बढ्दै गएको छ । भर्खरै मन्त्री पदबाट रुँदै हटाइएकी रामकुमारी झाँक्रीले माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई पनि एमाले फर्किने प्रयासका रुपमा हेरिएको छ । यस्तै किसान श्रेष्ठ र प्रेम आले पनि एमालेमा मिसिन तम्तयार भएका छन् ।

एमालेसँग इतिहास छ । मुद्दा छन् । संगठन छ । आर्थिक शक्ति पनि छ । ब्रान्ड छ । जनाधार पनि छ । यति हुँदाहुँदै पनि आउँदो चुनावमा एमालेले क्षति बेहोर्न सक्ने एउटै कारण छ– अध्यक्ष केपी शर्मा ओलीको बोली र उमेर । किनभने अहिले देशभर बूढा नेता बढार्ने अभियान चलेको छ । त्यसमा ओली पनि पर्छन् । त्यस्तै ओली २०७४ मा प्रधानमन्त्री निर्वाचित भएयता जथाभावी बोल्दै हिँडेका छन् । उनले मुखले नबिगारेका भए सम्भवतः उनको विपक्षमा जाने जनता र पार्टी कार्यकर्ता कोही हुने थिएनन् । उनकै बोलीका कारण चुच्चे नक्सादेखि विकासनिर्माण तथा सुशासनका केही असल पहलकदमी पनि ओझेल परे ।

ओलीले त कतिसम्म गरे भने नभएका शत्रु पनि बोलेरै सिर्जना गरे । अहिले पनि उनको नियन्त्रणहीन बोली एमालेका निम्ति ठूलै चुनौती बनेर देखापरेको छ । कम्तीमा ओली र गोकुल बाँस्कोटा बोल्न मात्र छाडे भने पनि एमाले पुरानै स्थानमा फर्किनेछ । आउँदो चुनावमा सके एकल बहुमतको सरकार बनाउनेछ । त्यो सम्भव नभए पहिलो दल अवश्य बन्नेछ । यो नतिजा हासिल गर्न ओलीले आफ्नै बोली त सम्हाल्नुपर्छ नै, साथसाथै आफूले सक्रिय राजनीतिबाट संन्यास लिने घोषणा गरी भावी प्रधानमन्त्रीका रुपमा अर्को नेतालाई अघि सार्नुपर्छ । यति गरेपछि एमालेले अपत्यारिलो जित हासिल गर्नेछ । म नै राज्य हुँ, म नै जान्नेसुन्ने छु भन्ने सोच ओलीले राखेमा त्यो प्रत्युत्पादक हुनेछ र आउँदो चुनावमा एमाले इतिहासमै सानो आकारमा टाक्सिन पनि बेर लाग्दैन । त्यसको लाभ कथित स्वतन्त्र र ओलीकै शब्दमा भँडुवाहरुले लिनेछन् ।

  • प्रकाशित मिति : साउन २५, २०७९, बुधवार ०६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८