• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

कविडाँडा साहित्य समाजद्वारा स्रष्टा सम्मानित

  • खबरदाता

कविडाँडा साहित्य समाजद्वारा स्रष्टा सम्मानित

जेठ १५,२०७९

भरतपुर- कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ‘कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य” पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन । उनलाई रु ३० हजार १६० सहित सम्मान प्रदान गरिएको हो । ‘कविडाँडा देव–खीना स्मृति’ सम्मान तथा पुरस्कार चितवनका वरिष्ठ साहित्यकार रेशम विरही र मकवानपुर जिल्लाका वरिष्ठ साहित्यकार तुलसी थापालाई संयुक्तरूपमा प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु १५ हजार १६० छ ।

‘कविडाँडा राष्ट्रिय युवा वाङ्मयी प्रतिभा’ पुरस्कार २०७९ बाट कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक लेखराम सापकोटा सम्मानित भएका हुन । कायाकैरन दैनिक, कायाकैरन डटकम र सम्पूर्ण किताबका माध्यमबाट नेपाली साहित्य, कला र पठन संस्कृतिको विकासमा योगदान पुर्‍याएको भन्दै सापकोटालाई रु १५ हजार १६० नगदसहित सम्मान गरिएको हो ।

यसैगरी ‘कविडाँडा अविनाशी कृति’ पुरस्कार २०७८ सालमा प्रकाशित मोक्ष उपन्यासलाई प्रदान गरिएको छ । यो उपन्यासका लेखक सिर्जन अविरललाई रु १५ हजार १६० सहित सम्मान गरिएको हो।

कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले कविडाँडाले गरेको उत्कृष्ट कार्यको खुलेर प्रशंसा गरे । श्रेष्ठले देशभरि एकेडेमी खोल्नुको औचित्य नरहेको बताए । स्थानीय निकायले होडबाजी गर्नुको सट्टा एकेडेमीको आवश्यकतामा आधारित हुनुपर्नेमा उनको जोड थियो ।

चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, नेपाल प्रहरी शिक्षालय भरतपुरका निमित्त समादेशक प्रहरी उपरीक्षक प्रकाश मल्ल, साहित्यकार गायत्री श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समाजको उद्देश्य र हालसम्म गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टा परिचय नवराज ढुङ्गाना र सुरेन्द्र अस्तफलले गराउनुभएको थियो । गतवर्ष समाजले नेपाल भारत कविता उत्सव सम्पन्न गरेको थियो ।

  • प्रकाशित मिति : जेठ १५, २०७९, आइतवार १०:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८