• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चेपाङ विद्यार्थीको पीडाः गर्मी लाग्दा स्कुल जान्छन् जाडोसँगै घर


चेपाङ विद्यार्थीको पीडाः गर्मी लाग्दा स्कुल जान्छन् जाडोसँगै घर

चेपाङनै चेपाङले भरिएको गाउँमा सरकारले कुनै योजना नल्याएसम्म त्यहाँ पुगेका पर्यटक तथा सहयोगी संस्थाको भरमा मात्रै सिङ्गो गाउँ चल्ने अवस्था देखिदैन । आर्थिक अवस्था कमजोर हुनु उनीहरुको दोष नहुँदापनि शिक्षाको उज्यालोबाट उनीहरु बन्चित भइरहेका छन् ।

केपी शर्मा – मंसिर १७, २०७८

चितवन । सुगम चितवनको अति विकट गाउँ । ईच्छाकामना गाउँपालिकाको वडानम्वर १ । जुन ठाउँलाई हात्तीवाङ भन्छन् । पर्यटकीय दृष्टिकोणले निकै प्रशिद्धी कमाएको जुन क्षेत्रमा अधिकाँश चेपाङ समुदायका रहेका छन् । शून्य आम्दानीको स्रोतमा पाखोवारी खनेकै भरमा जीवन गुजार्दै आएका छन् ।

मंसिर महिनाको लगभग आधाआधी । जाडो बढ्नेक्रम क्रमस उकालो लाग्दै जाँदा त्यहाँका चेपाङ समुदायका बालवालिकाको अवस्था पनि दयनीय देख्न सकिन्छ । गर्मीभरी सहजै दैनीकी वित्ने उनीहरुको जाडो लागेसँगै कष्टकर बन्दै जान्छ ।

त्यसमा पनि वालवालिका भने अझ बढि पीडामा छन् । वर्खाभरी सहजरुपमा चलिरहने त्यसको क्षेत्रका विद्यालय जाडो सँगै सुनसान जस्तै हुन थालेको छ । जाडो बढ्दै जाँदा गरिवीले पिल्सीएका चेपाङ बालवालिकाहरु विद्यालय आउन छाडीसकेका छन् ।

घाम लाग्छ, विद्यालय जानछन् । जव धुमिन्छ घरै बस्छन् । हात्तीवाङमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको नियती अहिले मात्र होइन वर्षौँदेखि यसरी नै चल्दै आएको छ ।
गर्मी समय नियमित विद्यालय आउने उनीहरु जाडो मौसम सुरुभएसँगै विद्यालयमा हाजिरी हुने दिन घट्दै जान थालेको छ ।


वडानम्वर १ को यो मात्रै एक माध्यामिक विद्यालय हो । ९० प्रतिशत चेपाङ वालवालिका यही विद्यालयमा अध्ययन गर्दछन् । सोही विद्यालयकी छात्रा किनारा पुरीलाई अवका दिनहरु खल्लो लाग्छन् । जाडोको मौसम भएपनि सधैँ घाम लागिदेओस भन्ने कामना उनी कामना गरिरहन्छीन् । कारण घाम लागेको दिन उनले आफ्ना सम्पूर्ण चेपाङ सहकर्मीहरु पाउनेछिन् ।

उनी भन्छिन् ,“उज्यालो हुनेवेलामा सधैँ प्रार्थना गर्छु आज दिनघर घाम लागिदिओस् । घाम लागेको दिन वा कुनै न्यानो कपडा पाएर तातो अनुभव गरेको दिनमात्रै चेपाङ बालवालिकाहरु विद्यालय आउँछन् ।” एक छाक जुटाउननै धौधौ पर्ने चेपाङ परिवार छोराछोरी भने विद्यालय भने पठाइरहेका छन् । जाडो मौसममा लगाउने कपडा नहुँदा चेपाङ साथीहरु साथमा नहुने नमिठो अनुभव र भोगाई छ पुरीको । हप्तामा बढिमा ३ तीन दिनमात्रै उनीहरु विद्यालय आउने गरेको पुरीले सुनाइन् ।

उक्त विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरलाइ पनि जाडो सुरु भएपछि नरामाइलो महसुस हुन थाल्छ । क्रमिक रुपमा जाडो बढ्दै जाँदा दिनहुँनै उनका विद्यार्थीको संख्या पनि घट्दै जान्छ ।पुष माघको मध्यजाडोमा त विद्यालयमा विद्यार्थी संख्या शून्यनै हुन जान्छ ।

प्राकृतिक सम्पतीले धनी भएको यो ठाउँमा विपन्न, गरिव चेपाङहरुको बाक्लो बस्ती छ । सिराइचुली यहाँको प्रशिद्ध पर्यटकीय क्षेत्र हो । जहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकले दिएका एक दुई जोर लुगाफाटोबाट त्यहाँका चेपाङ बालवालिकाले आफ्नो आङ ढाकिरहेका हुन्छन् । आफ्नो अभिभावक र परिवारबाट नयाँ र न्यानो कपडा पाउने उनीहरुको सपना बाहेक अरु केही हुनेछैन ।

कुनै समय आफ्ना वालवालिकालाई विद्यालयनै नपठाउने सो क्षेत्रका चेपाङहरुले पछिल्लो समय आफ्ना वालवालिकाहरुलाई सहजै विद्यालय पठाउने गरेको प्रधानाध्यापक मगर बताउँछन् । तर त्यसरी पठाएका वालवालिकालाई यहाँको प्राकृतिक वातावरणले गर्दा गुणस्तरीय शिक्षा दिन नसकिएको उनले दुखेसो पोखे ।

कोभिड १९ को महामारीका कारण करिव २ वर्ष भौतिक रुपमा विद्यालय संचालन गर्न नसकेको बताउँदै प्रधानाध्यापक मगरले भने,“एक्ट्रा कक्षा संचालन गरी त्यो समयको क्षतीलाई पूर्ति गर्ने योजना छ तर आर्थिक अवस्था कमजोर भएका चेपाङ बालवालिका जाडोमा न्यानो कपडा नहुँदा विद्यालय नै आउन सक्दैनन् । कसरी गर्ने होला त्यो बेलाको पढाइलाई परिपूर्ति ? ”
मगरका अनुसार तुषारो पर्ने, बादल लाग्ने भएसँगै उनीहरु विद्यालय आउँदैनन् ।न्यानो कपडा नहुँदा चेपाङ बालवालिका घरमै बस्ने, आगो ताप्ने र दिन कटाउने गर्दछन् ।

आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा पछि परेका उनीहरुलाई माथि उकास्न खोजेपनि परिवारकै अवस्था सुधार गर्नुपर्ने वाध्यताले त्यो पूरा हुन नसकीरहेको सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुष्मबहादुर चेपाङको भनाई छ । मंसिर, पुष र माघ महिनासम्म कमजोर आर्थिक अवस्था भएका चेपाङ वालवालिका पढ्नै नआउने उनी बताउँछन् ।

न्यानो कपडाको अभाव छ, थोरै भए त सानो सहयोग पनि पुग्थ्यो होला, उनी भन्छन्,“९० प्रतिशत वालवालिका चेपाङ छन् । राज्यबाटै सहयोग नहुँदासम्म उनीहरु अभावमा बाँचीरहनुपर्ने देखिन्छ । कलिला बालवालिका लागि चिसो मौसम शत्रु नै बन्ने गरेको छ । जाडो बढेसँगै विद्यालय छोड्नुपर्ने उनीहरुको वाध्यता हो । ”
‘कतिपय हुनेखानेले पछ्यौरा ओढाएर पठाउँछन्, कुनै सहयोगी संस्थाहरुले ज्याकेट दिए लगाएर विद्यालय आउँछन् अन्यथा यो मौसममा कपडा अभावले घरमै बस्न वाध्य छन्,’ चेपाङले भने ।

कहिलेकाहिँ विभिन्न संघसंस्थाले न्यानो कपडा वितरण गरेपनि शरिरको माथिल्लो भागका लागि मात्रै कपडा दिने तर कम्मर मुनि लगाउने कपडा नहुँदा सहयोग गरेपनि विद्यालय आउने वातावरण नवनेको विद्यार्थीहरु बताउँछन् ।

उनीहरु न्यानो कपडा सहयोगको अपेक्षामा जाडोका दिन धकेलिरहेका छन् र जसोतसो अहिलेसम्म विद्यालय आइरहेका छन् । उक्त विद्यालयमा अहिले ३२५ जना विद्यार्थीहरु रहेका छन् । जसमा ९० प्रतिशत चेपाङ वालवालिका अध्ययन गर्दछन् ।

भौतिक रुपमा भने भवन, शौचालय, खानेपानीको व्यवस्था रहेको छ । केही समय पहिले झोला अभावमा विद्यार्थीहरुले हातमै किताव बोक्न वाध्य भएको देखेर क्यूसू जापानले विद्यालय झोला तथा स्टेशनरी सामाग्री सहयोग गरेको थियो । सपना भिलेजको समन्वयमा उक्त वडामा रहेको एक मावि सहित सात वटै विद्यालयका विद्यार्थीहरुलाई उक्त सहयोग गरेको थियो ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८, शुक्रवार ११:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८