• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

कोरोनाको दोस्रो लहरलाई सामान्य रूपमा नलिऔं


कोरोनाको दोस्रो लहरलाई सामान्य रूपमा नलिऔं

बैशाख- ८.२०७८

जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए । यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । भारतमा यूके भेरियन्टको कोरोनाको दोस्रो लहर शुरू भएपछि पनि सतर्कता नअपनाएको कोरोना संक्रमणको चाप बढिसकेर भेन्टिलेटरको अभाव देखिन थालेको छ । अन्तिम बेलामा भर्खरै मात्र सरकारले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो लहरको सम्बन्धमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग  काशीराम बजगाईंले गरेको कुराकानीको सार :

पछिल्लो समय संक्रमणको अवस्था कस्तो छ ?
परीक्षणमा कोरोना संक्रमणको दर २ प्रतिशतभन्दा तल झरिसकेकोमा पछिल्लो समय ह्वात्तै बढ्दै गएर अहिले संक्रमण दर २० प्रतिशतसम्म पुगिसकेको छ । सिकिस्त बिरामीको संख्या बढ्दो छ । अस्पतालका शय्या, भेन्टिलेटर र आईसीयु भरिन थालेका छन् । मंगलवार मात्रै १ हजार ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । छोटो समयमै यति ठूलो संख्यामा संक्रमण देखिनु त्यति राम्रो संकेत होइन । अहिलेको अवस्था गम्भीर देखिन्छ । अब केही दिनमै अस्पतालमा शय्या नै नपाउने अवस्था देखिन सक्ने सम्भावना देखिएको छ । लगभग आईसीयू र भेन्टिलेटर भरिसकेको छ । अब आगामी दिनमा बिरामी आए भने ठाउँ पाउन गाह्रो हुने अवस्था सृजना भएको छ ।

अघिल्लो वर्षदेखि नै दोस्रो चरणको कोरोना फैलिन सक्ने भएकाले सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिइरहेका थिए । तर सरकार पक्षबाटै पनि भिडभाडका क्रियाकलाप भएको पाइयो । यो बीचमा के गर्न सकिन्थ्यो ?
जहाँ धेरै मानिसको जमघट हुन्छ, त्यहाँ कोरोनाको जोखिम त्यति नै धेरै हुन्छ । अघिल्लो वर्षबाट हामीले पाठ सिकेनौं, वास्ता गर्न छाड्यौं । बन्दाबन्दी सकिएसँगै कोरोना संक्रमण शून्य भए जसरी नागरिकदेखि सरकारमा भएकाहरूबाट समेत भीडभाडका क्रियाकलाप गरियो । हुलमुल, जमघट नगरौं भनेर हामीले भन्दै आएका हौं । यो कतिपयलाई मन नपर्ला । तर कोरोनालाई सामान्य रूपमा लिने हो भने अवस्था भयावह हुन सक्छ । अहिले अस्पताल लगभग भरिइसकेको अवस्था छ । दोस्रो लहरको यो शुरुआती समय हो, उत्कर्षमा पुगेकै छैन । आउँदो केही हप्तामै हाम्रा लागि समय निकै चुनौतीपूर्ण हुन सक्छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम राखौं । धेरै संक्रमित भएपछि अस्पतालमा ठाउँ पाउने अवस्था रहँदैन । भौतिक संरचना जे जति छ, त्यसले धान्न सक्दैन । जनशक्तिको अभाव पनि हुन्छ । त्यो बेला कतिपय बचाउनै सकिने संक्रमित छन् भने पनि उपचार नै नपाएर मृत्यु हुने अवस्था आउन सक्छ । यो सुन्दा नराम्रो लाग्छ, कतिपयलाई मन नपर्न पनि सक्छ । तर यथार्थ यही हो । मैले २०औं वर्षसम्म सरुवा रोगमा काम गरेको अनुभवका आधारमा भन्नुपर्दा कोरोनाको संक्रमण सबैभन्दा खतरनाक छ । त्यसैले समयमै सतर्कता अपनाउन आवश्यक छ ।

यसबीचमा हामीले कोरोना संक्रमण नियन्त्रणका लागि पनि चुस्त तयारी गर्नुपर्ने थियो । बन्दाबन्दीसम्म गरेर पहिलाको स्थितिमा पुग्दा कुन बेला के गर्ने भन्ने तयारी गर्नुपर्थ्यो । यो हामीलाई सिक्ने राम्रो समय थियो । तर त्यो चाहिँ देखिएन । सरकारले यो बीचमा पनि कन्ट्र्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेशन लगायतलाई निरन्तरता दिनुपर्थ्यो । यसलाई व्यापक बनाउनुपर्थ्यो । संक्रमणको लहर रोक्ने, कम गर्ने हो भने नयाँ कुरा थप्न त्यति धेरै आवश्यक छैन । पहिले अपनाइएकै मापदण्डलाई निरन्तरता दिन सके धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

नयाँ लहरका रूपमा देखिएको यूके भेरियन्टको कोरोना अघिल्लो लहरको भन्दा के फरक छ ?
पहिलो लहरमा वृद्धवृद्धा र दीर्घरोग भएका व्यक्तिमा बढी जोखिम देखिएकोमा अहिले भने ५० वर्षमुनिका स्वस्थ व्यक्ति र बालबालिकामा पनि जोखिम देखिएको छ । अहिले सबैभन्दा बढी संक्रमण युवामा देखिएको छ, त्यो पनि जोखिमसहितको छ । बालबालिका पनि संक्रमित देखिएका छन् । नयाँ भेरियन्ट अलिकति तीव्र गतिमा फैलिने खालको हुन्छ भनेर पहिले अनुसन्धानले देखाएको थियो । अहिले नेपालमा पनि हरेक साता गएको वर्षभन्दा पनि छिटो छिटो फैलिएको छ ।

सरकारले हालै मात्र विद्यालयदेखि केही क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । संक्रमण फैलिन नदिन के के गर्न आवश्यक छ ?
बन्द गर्ने काम उचित होइन । सामान्यतया म बन्दाबन्दीको पक्षमा कहिल्यै रहिनँ । किनभने बन्दाबन्दी समाधान होइन । संक्रमण नियन्त्रणका लागि यो अल्पकालीन विकल्पका रूपमा देखिएको छ । यसमा दुईमत छैन । सरकारको प्रयास हुँदाहुँदै पनि नियन्त्रण गर्न सकिएन भने मात्रै छोटो समयका लागि बन्दाबन्दी गर्न सकिन्छ । तर यो आत्मसर्मपण गरेजस्तो हो । सबैभन्दा महत्त्वपूर्ण त स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो जीवनशैली बदल्नु हो । भौतिक दूरीसहितको नयाँ जीवनशैलीमा हामीले आफूलाई तयार गर्नैपर्छ । यसको विकल्प नै छैन । तर धेरै लामो समयसम्म बन्दाबन्दी गरेर कुनै समाधान हुँदैन भन्ने प्रमाणित भइसक्यो । बन्दाबन्दी गरेर केही दिन घरमा बसेर फेरि भीडभाड गरेर बस्ने हो भने त्यसको पनि कुनै मतलव हुँदैन ।

कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ । अहिले देखिएका संक्रमितमध्ये खोप लगाएका संक्रमित कति छन् र उनीहरूमा कत्तिको जोखिम देखिन्छ ?
खोप लगाएकाहरू सामान्य केही संक्रमित देखिने गरेका छन् । तर हालसम्म खोप लगाएकामा संक्रमणको जटिल समस्या भने देखिएको छैन । खोप लगाउँदैमा संक्रमण नहुने भन्ने हुँदैन । जोखिमको अवस्था हुन्छ, संक्रमण हुने र सार्न सक्ने सम्भावना हुन्छ । त्यसैले सबैलाई खोप लगाएर अवस्था सामान्य नहोउन्जेल भौतिक दूरी कायम राखी स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प छैन।

पछिल्लो समय भारतमा भयावह रूपमा कोरोना फैलिएको छ । त्यहाँ काम गर्न गएका नेपाली फर्किने क्रम पनि बढेको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन के गर्नुपर्छ ?
नेपालमै समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ । गतवर्ष सीमामा सतर्कता अपनाए पनि पुग्ने अवस्था धेरै हदसम्म रहेकोमा यो वर्ष समुदायस्तरको र सीमाको कोरोना नियन्त्रणका लागि सरकारले काम गर्नुपर्ने देखिन्छ । संक्रमणको चक्र त चलिनै रहेको छ । तर यसलाई व्यापक हुन नदिन सीमामै संक्रमितको पहिचान गरेर व्यवस्थापन गर्न सकिएमा धेरै सहज हुन्छ । त्यसका लागि स्थानीय निकायले पनि सक्रियता बढाउन जरुरी छ ।

बालबालिकामा पनि कोरोना संक्रमण फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न के गर्नुपर्छ ?
गतवर्ष विशेषगरी वृद्धवृद्धामा बढी संक्रमण देखिएकोमा यस वर्ष युवा र बालबालिकामा पनि देखिएको छ । बालबालिकाको आइसोलेशन र उपचार प्रक्रिया फरक हुन्छ । त्यसैले बालबालिकालाई केन्द्रित गरी छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।

  • प्रकाशित मिति : वैशाख ८, २०७८, बुधवार ००:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८