• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

साना तथा मझौला व्यवसायी बढी मारमा


साना तथा मझौला व्यवसायी बढी मारमा

चैत्र १२,२०७७ – प्रशान्त खड्का

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन् । यस्ता व्यवसायीहरू सम्पूर्ण रूपमा एउटै व्यवसायमा आबद्ध हुने हुँदा अन्य आम्दानीको स्रोत पनि नहुने भएकाले बढी मारमा पर्ने गरेको सरोकारवालाहरूले बताएका छन् ।

अहिले बन्दाबन्दी छैन तर त्यसले आफूहरूलाई अझै पनि असर गरिरहेको व्यवसायीहरूको भनाइ छ । सामान्य हिसाबमा हेर्दा बजारमा चहलपहल बढेको देखिए पनि त्यसले समग्र व्यापार व्यवसायमा भने सकारात्मक प्रभाव पार्न भने सकेको छैन । साना तथा मझौला व्यवसायीहरूको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बन्दाबन्दीका कारण साना तथा मझौला व्यवसायीहरू नै सबैभन्दा बढी मारमा परेको बताए ।

उनका अनुसार बन्दाबन्दी खुलेपश्चात् पनि व्यापारीहरूले आयात गर्न लागेका सामानहरू १० महीनासम्म नाकामा थन्कीएर रहँदा कतिपय सामानहरूको सिजन अफ भयो, जसले गर्दा व्यापारीहरूले ठूलो क्षति वेहोर्नु पर्‍यो । बन्दाबन्दीका कारण उपभोक्ताको आम्दानी घटेकाले उपभोगमा समेत कमी आई हालसम्म पनि व्यापारमा सुधार आउन सकेको छैन । बन्दाबन्दीको असरका कारण करीब ५ प्रतिशत साना तथा मझौला व्यवसायी पलायन भएका र अधिकांशले पेशासमेत परिवर्तन गरेका अध्यक्ष कटुवालले जानकारी दिए ।

‘बन्दाबन्दीपश्चात् पूर्णरूपमा नगद कारोबार गर्न सक्नेले मात्र व्यापार गरेका छन् । अहिले बाँकी राखेर व्यापार चल्ने अवस्था छैन, जसले गर्दा साना व्यवसायीहरू पलायनको अवस्थामा पुगेका छन्,’ उनले भने । संघको तथ्यांकअनुसार बन्दाबन्दीका समयमा काठमाडौं उपत्यकामा मात्र व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका करीब ४० प्रतिशत सटर खाली भएका थिए । अहिले ती सटरमा नयाँ व्यवसायी आएका छन् तर व्यापारको अवस्था भने नसुध्रिएको व्यापारीहरू बताउँछन् ।

त्यसैगरी उत्पादनमूलक व्यवसायीहरूको अवस्थामा समेत खासै सुधार भएको देखिँदैन । पोल्ट्री, दुग्ध, हस्तकला, गलैंचालगायत उद्योगहरूको अवस्था पनि सुधारोन्मुख छैन । बन्दाबन्दीका समयमा दैनिक करीब २२ करोड रुपैयाँ नोक्सानी बेहोरिरहेको पोल्ट्री उद्योगमा बन्दाबन्दीको असर यति बेला देखा परिरहेको छ । बन्दाबन्दीका कारण माउ कुखुरा आयात नहुँदा अहिले चल्ला उत्पादन घट्नुका साथै दानाको कच्चा पदार्थ बढेकाले उत्पादन लागत बढेको छ । हाल चल्लाको उत्पादन ४० प्रतिशतले घट्दा दानको उत्पादनसमेत सोही परिमाणले घटेको छ ।

बन्दाबन्दीका कारण बोइलर कुखुरा उत्पादनतर्फ ८० प्रतिशत र लेयर्स उत्पादनतर्फ करीब २० प्रतिशत किसान पलायन भएको नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । अहिले नयाँ किसान थपिए पनि यस क्षेत्रले गति लिन अझै केही वर्ष लाग्ने उनको भनाइ छ ।

सामान्य अवस्थामा दूध उत्पादक किसानले दूध बेचेको ३ साताभित्र दूधको पैसा पाउने भए पनि यति बेला बन्दाबन्दीकै असरका कारण दुग्धजन्य पदार्थको विक्री घट्दा उद्योगीले महीनौं दिनसम्म पनि किसानको पैसा भुक्तानी दिन सकेका छैनन् ।

हस्तकला सामग्री तथा उनी गलैंचा उत्पादक व्यवसायीहरूले सामान निर्यातमा तीन गुनासम्म बढी भाडा तिर्नुपरेका कारण मागअनुसार सामान निर्यात गर्न समस्या भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य संघको तथ्यांकअनुसार नेपालमा करीब ३० लाख हाराहारीमा साना तथा मझौला व्यवसायी रहेका छन्, जसमध्ये १६ लाख दर्ता भएका व्यवसायी छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २२ प्रतिशत योगदान गर्छ भने १७ लाखभन्दा बढी मानिसले यस क्षेत्रमा प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

  • प्रकाशित मिति : चैत १२, २०७७, बिहीवार ०१:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८