• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अग्नि खरेललाई बालुवाटारमा प्रवेश निषेध !


अग्नि खरेललाई बालुवाटारमा प्रवेश निषेध !

चैत्र ८,२०७७ -नारायण प्रसाद दाहाल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति विश्वास गरेका पात्र अग्नि खरेल अन्ततः बालुवाटारको कालोसूचीमा परेका छन् । खरेलले आफ्नो मोर्चामा खरो उत्रिएर प्रधानमन्त्री ओलीको बचाउ गर्नुको साटो उल्टै भयंकर दुर्घटनाको खाल्डोमा जाक्न खोजेपछि उनी बालुवाटारको प्रतिबन्धमा परेका हुन् । खासगरी प्रतिनिधि सभा विघटनको मुद्दामा ओलीले खरेलबाट गम्भीर धोकाको महसूस गरेपछि बालुवाटार छिर्नै निषेध गरिदिएका हुन् ।

सुरुमा प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटन गर्न मिल्ने सुझाव दिएर खरेलले उक्साएका थिए । संविधानको अपव्याख्या गरी प्रधानमन्त्रीलाई मनाएका उनले अदालतले समेत आफ्नो तर्कको घेराभन्दा बाहिर गएर निर्णय गर्न नसक्ने जिकिर प्रधानमन्त्रीसामु गरेका थिए । अदालतको जिम्मा आफूले लिन सक्ने भन्दै खरेलले ढुक्क पारेपछि ओलीले विघटनको कदम चालेका थिए ।

प्रधानमन्त्री ओली किन पनि ढुक्क थिए पनि खरेलकै जोडबलमा हरिकृष्ण कार्कीदेखि सपना मल्लसम्मलाई निकै ठूलो अवगाल सहेर भए पनि सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिदिएका थिए । यति यति मात्र होइन, एमालेका ती दुवै पूर्वकार्यकर्तालाई सर्वोच्च न्यायालयको भावी नेतृत्वको रोलक्रममा रहने गरी सेटिङ मिलाउँदा ओलीले आशिर्वाद दिएका थिए ।
खरेलले आफूलाई प्रयोग मात्र गरेको, अन्तिममा धोकाको खाडलमा पार्न खोजेको भेउ पाएपछि प्रधानमन्त्री ओली झस्किएका थिए । तर, यतिञ्जेल धेरै ढिलो भइसकेको थियो ।

महान्यायाधिवक्ताका हैसियतमा खरेलले सर्वोच्च अदालतमा गएर कुनै दमदार तर्क गर्न सकेनन् । कुनै बलियो नजिर प्रस्तुत गर्न सकेनन् । वरिष्ठ कानुनविद्को टिम बनाउन पनि सकेनन् । उनले अघि सारेका केही सरकारी वकिलले त अमूर्त बहस गरेर जता पनि अर्थ लाग्ने तर्क अघि दिएका थिए । इजलास सहमत हुन सक्ने गरी देश–विदेशका कुनै स्थापित सिद्धान्त र नजिर पनि दिन सकेनन् । अदालतमा बहस कमजोर भएको पाएपछि प्रधानमन्त्री ओलीले खरेललाई बालुवाटारस्थित आफ्नो निवासमै बोलाएर झपारेका थिए । त्यहीँ बसेर उनलाई आफ्नै अगाडि राजीनामा लेख्न लगाएका थिए र त्यसपछि आफ्नो अगाडि कहिल्यै नपर्न भन्दै हकारेका थिए ।

प्रधानमन्त्रीको सामुन्नेबाट कालोनीलो भएर निस्किएका खरेलले एक शब्द जवाफ फर्काउन सकेनन् । पछि सचिवालयका अरु सदस्यलाई अब बालुवाटार नआउने र पदमा पनि नबस्ने भन्दै घरबाट राजीनामा लेखेर ल्याउने बताएका थिए । ती सदस्यहरुले पनि खरेललाई निकै हेपेर अब बालुवाटार आउनु नपर्ने, एउटा खाली कागजमा सही गरे पुग्ने बताएका थिए ।

नभन्दै सर्वोच्च अदालतबाट प्रतिनिधि पुनःस्थापनाको फैसला आउने बिहानैदेखि खरेलले राजीनामा दिएको हल्ला चलिसकेको थियो । त्यही साँझ फागुन ११ गते संसद पुनःस्थापनाको फैसला आई छाड्यो । आफूले दिएको सल्लाहले प्रधानमन्त्री पद नै धरापमा पर्ने भएपछि खरेल बस्नुको औचित्य र नैतिक आधार दुवै सकिएको थियो । तर, त्यतिखेर त्यो खबर बाहिर ल्याउँदा गलत सन्देश जाने भएपछि राजीनामा दिएको कुरा ढाकछोप गरिएको थियो ।

अन्ततः करिब एक महिनापछि शुक्रबार खरेलको राजीनामा सार्वजनिक भयो । जबकि, उनको ठाउँमा रमेश बडाललाई नियुक्ति दिइएको कुरा बिहीबार साँझ नै सबैतिर फैलिइसकेको थियो । खरेलले आफू प्रधानमन्त्रीको चाहनामै महान्यायाधिवक्ता भएको र प्रधानमन्त्रीकै चाहनामा अरु जुनसुकै जिम्मेवारी पूरा गर्न पनि तयार रहेको भन्दै पत्रकार सम्मेलनको नाटक गरे । यति मात्र होइन, सक्रिय राजनीतिमा फर्किन आफूले राजीनामा दिएको अर्को विरोधाभासपूर्ण तर्क पनि गरे । अझ उनले प्रधानमन्त्रीले पदमा रहिरहन भनेको तर आफैले राजीनामा दिएको अर्का विरोधात्मक वाक्य फुस्काए । प्रधानमन्त्रीले जहाँ बस्न भने, त्यहीँ बस्ने पनि भन्ने अनि प्रधानमन्त्रीले पद नछाड्न भन्दा पनि आफूले नमानेको दावी पनि गर्ने । यी परस्पर विरोधी तर्कबाटै पुष्टि हुन्छ कि उनले पत्रकार सम्मेलन नौटंकीका निम्ति गरेको र आफू पानीमाथिको ओभानो बन्न खोजेको ।

त्यसो त खरेल नैतिकता र निष्ठामा कति कमजोर थिए, भन्ने कुरा मन्त्री भइसकेर महान्यायाधिवक्ताको जागिर खान पुगेका थिए । त्यतिखेरै उनको यस पदलोलुपतालाई सभामुख भइसकेर तेस्रो चौथो वरीयताको मन्त्री खान र्याल काढ्दै हिँड्ने रामचन्द्र पौडेलको भन्दा पनि गएगुज्रेको भनेर धेरै कनुनविदहरुले टिप्पणी गरेका थिए ।

त्यसअघि सुवास नेम्बाङको काँध चढेर मनोनीत कोटाबाट संसद छिरेका खरेल निर्वाचित सांसदहरुका पनि सचेतक बनेका थिए । पछि एकाएक कानुन मन्त्री नै उनैलाई बनाइएपछि धेरैले टिप्पणी गरेका थिए, धेरै पुल्पुल्याएको छोराले काँध विष्ट्याउँछ । नभन्दै ओलीले आवश्यकताभन्दा बढी भूमिका दिँदा अन्ततः उनै खरेलबाट इतिहासमा कहिल्यै नमेटिने संसद विघटनको दाग बेहोर्नुपरेको छ । सधैँ लोकतन्त्रप्रति प्रतिबद्धता जनाएका र १४ वर्ष यसैका निम्ति कारागार बसेका ओलीको राजनीतिक जीवनमा लागेको यो खरेल वर्णको दागले अहिले मात्र होइन, आगामी कयौँ वर्षसम्म सताइरहनेछ । भलै, ओली ठूलो पराजयलाई पनि उत्सवका रुपमा मनाउन सक्ने र एउटा चाल असफल भए अरु दसवटा चाल चल्न सक्ने खेलाडी भएकाले पुनःस्थापनाको दाग अरुअरु प्रकरणको आलोकमा तत्कालका लागि ढाकछोप गर्न सफल भएका छन् ।

खरेलको यस खालको भूमिकालाई लिएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई समेत केही हदसम्म अप्ठेरो पारेको आभास हुन्छ । कतिपयले यही प्रकरणका कारण अदालतभित्रैको शक्ति सन्तुलनमा समेत उथलपुथल आएको अनुमान गरेका छन् । अब सपना मल्ल प्रधान, हरिकृष्ण कार्की लगायतको विवादित छवि अग्निसँगको सन्दिग्ध भूमिकाका कारण प्रधानन्यायाधीशको रोलक्रमबाटै बाहिरिन सक्ने आकलन समेत गर्न थालिएको छ । हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस नै नहुने सम्भावना पनि उत्तिकै छ । कुनै राजनीतिक पक्षधरता नभएका, निर्विवाद, निर्भीक एवं विद्वान न्यायाधीश डा आनन्दमोहन भट्टराईको पनि सर्वोच्च अदालतमा न्याय सम्पादन गरेको तीन वर्ष अवधि पुगिसकेकाले भावी प्रधानन्यायाधीशका रुपमा उनलाई नियुक्त गर्ने वातावरण पनि बन्न सक्ने आधार प्रबल बनेका छन् ।

  • प्रकाशित मिति : चैत ८, २०७७, आइतवार ०३:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८