• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

ओली सरकार संकटमा परेपछि रास्ट्रपतिको चिन्ता !

  • खबरदाता

ओली सरकार संकटमा परेपछि रास्ट्रपतिको चिन्ता !

चैत्र ३,२०७७

तीन महिनायता नेपालको राजनीति द्रुत गतिले तरल बन्दै गएको छ । संसद्मा लगभग दुई तिहाईको बहुमतप्राप्त प्रधानमन्त्री र एसियाकै दोस्रो ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष बनेका केपी शर्मा ओली पार्टी संयन्त्र र सरकार नै चलाउन असफल हुने अवस्था आएपछि प्रतिनिधिसभा नै विघटन गरिदिन पुगे ।

उनमा रहेको म नै पार्टी हुँ, मेरो नीति नै पार्टी र सरकारको नीति हुनुपर्छ भन्ने अहम्का कारण पार्टी त विभाजन भयो नै केन्द्र र प्रदेश दुवै तहका सरकार अस्थिर बन्न पुगे । केपी ओलीको यो अहम्को मलजल गर्नमा राष्ट्रपतिको पनि ठूलो हात रह्यो । संविधानविरुद्धमा गएर प्रधानमन्त्रीले संसद् विघटन गर्दा पनि राष्ट्रपतिले तत्कालै सदर गरिदिइन् । अर्को, एक पटक विवादपछि फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनः ल्याउँदा स्वीकृति गरिदिइन् ।

सर्वोच्च अदालतले संसद् विघटन गैरकानुनी तथा संविधानविरोधी ठहर गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीमाथि ठूलो नैतिक प्रश्न उठ्न गएको छ । प्रधानमन्त्रीको कदमकै कारण नेकपा त फुट्यो नै सर्वोच्चको पछिल्लो फैसलाले एमाले पूर्व अवस्थामा फर्कन पुगेकोमा ओलीकै कारण विभाजनको संघारमा छ । यही पृष्ठभूमिमा राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ३ गते आफ्नो निवासमा सर्वदलीय बैठक डाकेकी छन् । प्रधानमन्त्रीका सबै गैरकानुनी तथा गैरसंवैधानिक कार्यको सहयोगी बनेकी राष्ट्रपतिले डाकेको सर्वदलीय बैठक ओली बचाउको जाल च्यापेर राजनीतिक गरिरोध कम गर्ने प्रयास बन्न गएको छ । आफै नैतिक प्रश्नको थुप्रोमाथि बसेकी राष्ट्रपतिको राजनीतिक चिन्ताको प्रतिफल निस्केला भन्ने आशा कसले गर्ला र रु

अहिलेको राजनीतिक गतिरोध राजनीतिक पार्टीहरूबीचको द्वन्द्वका कारण आएको होइन । नेपालको राजनीतिमा जे–जस्ता अवस्था सिर्जना भएका छन् ती सबै एमाले र माओवादी केन्द्रका नेताहरूबीचको सत्ता र शक्तिको छिनाझप्टी नै हो । अझ स्पष्ट भन्दा यसको मुख्य चुरो केपी ओलीको व्यक्तिगत अहम् नै हो । उनको आफूले जे गर्न पनि पाउनुपर्ने, आफ्ना काम र व्यवहारको कसैले प्रश्न उठाए त्यसलाई शत्रु करार गर्ने प्रवृत्तिका कारण अहिलेको अवस्था आएको हो । आफ्नो पक्षका बाहेकलाई सकेसम्म थङ्ल्याएर अगाडि बढ्न नदिने र अगाडि बढ्न खोजे विभिन्न रणनीति अपनाएर भए पनि सिध्याउने रणनीतिले लोकतन्त्रलाई त खतरामा पार्यो नै राष्ट्रलाई पनि गम्भीर शकटमा पुर्याउँदै लगेको छ । आफ्ना विरोधीलाई टिक्न नदिने ओली नीति र त्यसको सहयोगीको भूमिका अवलम्बन गरेकी राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकले कस्तो राजनीतिक समाधान निकाल्ला ?

केपी शर्मा ओली र माधव नेपाल लामो समयदेखिका सहयात्री हुन् । यति मात्रै होइन पार्टीभित्रका प्रतिस्पर्धी पनि हुन् । उनीहरूबीचको सम्बन्ध भनेको मिलेर एमालेलाई सशक्त बनाउन लागिपर्नु हो । एकले अर्काको कमीकमजोरी पाए त विरोध गर्ने नै हो, राजनीतिमा यस्ता प्रतिस्पर्धी शत्रु हुँदैनन् तर अहिले ओली र नेपाल शत्रुको अवस्थामा पुगेका छन् । ओलीको गैरसंवैधानिक कदमको विरोध गर्दै प्रचण्ड खेमामा पुगेका नेपाल अदालतको पछिल्लो फैसलाले एमाले र माओवादी केन्द्र छुट्एपछि पुनः एमालेमै फर्किएपछि दुवैबीचको शत्रुता अझ बढ्न गएको छ ।

माधव नेपाल र झलनाथ खनाल एमालेमा पर्केपछि केपी ओलीले केन्द्रीय समितिको विशेष बैठक भन्दै आफू निकट केन्द्रीय समितिको भेलाबाट उनीहरूको समूहका नेताहरूको पद र जिम्मेवारी खोसिदिएपछि अझ ठूलो तीक्तता बढ्न गएको छ । चैत दुई गते माधव नेपाललाई बालुवाटार बोलाएर ओलीले अरू नेतासहित भेट गरे ।

भेट सौद्र्धपूर्ण भएको त बताइयो तर ओलीले आफ्नो कदमलाई रोक्न र सुधार गरेर अगाडि बढ्न चाहेनन् बरु नेपाल पक्षका भविष्यका कार्यक्रम रोक्न आग्रह गरे । यसले राष्ट्रपति निवासमा हुने सर्वदलीय भेलामा हुने छलफ र आग्रह गरिने कुरालाई स्पष्ट संकेत गर्छ । सकेसम्म प्रधानमन्त्रीका कदमको विरोध नगरी सहयोग गर्न आग्रह गरिने, भएन भने पार्टीहरूको मानसिकता बुझेर पुनः कुनै कदम चालिने जसले ओली सत्ताको बचाउ गर्छ भन्ने कुरा स्पष्ट छ ।

  • प्रकाशित मिति : चैत ३, २०७७, मंगलवार १४:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८