स्वस्थानी ब्रतकथाको आज साङ्गे गरिदै

  • खबरदाता
  • फागुन १५, २०७७

फागुन १५, २०७७
चितवन ।
एक महिने स्वस्थानी ब्रतकथाको आज विधिपूर्वक साँङ्गे गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा कथा भन्न र सुन्न शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक साँङ्गे गरिने भएको हो ।
स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

शनिबार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई ब्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

हिन्दू धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वास्थानी कथा वाचन गर्नेगर्छन्। एक महिनाभर व्रतकथाका ३१ अध्यायहरु पाठ गरिन्छ। यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरुले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरु पूर्ण साकाहारी हुन्छन् ।

श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

अष्टमातृका अर्थात् आठ वटा देवीको बीचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

शुद्ध चित्त अनि सफा संकल्प लिएर भक्ति अनि श्रद्धाकासँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चारवटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरवार अनि कमलको फूल छन् ।

वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यताक्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोषमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दू भएको दस्तावेजहरूमा उल्लेख छन् ।

यी अष्टमातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्टमातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दू संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबीचको संवाद छ । स्वस्थानी व्रतकथामा शिव भगवानका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनी बीचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनि…..’

श्री स्वस्थानी कथा आराध्यदेव भगवान शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा श्रृंखलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दू परिवारहरूमा साँझ या विहान चोखो निधो हुँदै ब्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८