• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका कलेजमा राजनीतिक दलका होर्डिङबोर्ड !


चितवनका कलेजमा राजनीतिक दलका होर्डिङबोर्ड !

विद्यार्थी संगठनका त्यस्ता सूचनापार्टीमा विद्यार्थीलाई हुने जानकारी शून्य छन् । त्यहाँ त आफ्नो पार्टीको गुणगान र विपक्षीलाई गालीगलौचमा खैरो खनेका व्यानरमात्रै भेटिन्छ ।

केपी शर्मा–पौष ६, २०७७
चितवन । उच्च शिक्षा हासिल गर्ने कलेज तथा विद्यालयहरु राजनीतिक दलको अखडा बन्दै गएका छन् । प्रत्येक कलेजमा राजनीतिक दलका आ–आफ्नै विद्यार्थी संगठनका होर्डिङ बोर्डहरुले कलेजनै राजनीतिक दलको पार्टी कार्यालय जसरी चिनिन थालेका छन् ।

चितवनमा भएका प्रायस ठूला कलेजहरुमा विद्यार्थी संगठनका नाममा बढेमानका होर्डिङ बोर्ड तथा सूचनापार्टीहरु छरपष्ट रुपमा देख्न सकिन्छ । ती बोर्डका तुलनामा कलेजले प्रयोगमा ल्याउने सूचना पार्टीहरु टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेका छन् । अधिकाँश सूचनाहरु कलेजले सूचना पार्टीको अभावमा क्याम्पसका भित्तामा, गेटमा र पिल्लरहरुमा टाँस्ने गरेको सहजै देख्न सकिन्छ । तर विद्यार्थी संगठनका होर्डिङबोर्डहरु भने कलेज प्रवेश गर्न नपाउँदै बाटैबाट प्रष्टै देख्न पाइन्छ। त्यसो त यस्ता होर्डिङबोर्डहरु कसले ठूलो राख्ने, कसले अगाडि राख्ने लगायतका प्रतिस्पर्धाहरु विद्यार्थी संगठनहरुमा नभएका पनि होइनन् ।

भरतपुरको सप्तगण्डकी,बीरेन्द्र,बालकुमारी,रामपुर कृषि,रत्ननगरको शहीदस्मृति क्याम्पस लगायत अधिकाँश निजी कलेजहरु प्रवेश गर्नेवित्तिकै सूचनापार्टीका नाममा आआफ्नै पार्टीको प्रचारप्रसार गर्ने बोर्डहरु देख्न सकिन्छ ।

भरतपुरको सप्तगण्डकी क्याम्पसमा प्रवेश गर्नासाथ दायाँतर्फ लहरै राजनीतिक दलका भातृसंगठनका आफ्ना प्रचारप्रसारका ठूला ठूला होर्डिङबोर्डहरु छन् । लाग्छ की उक्त कलेजमा प्रवेश गर्दा कलेज नगई राजनीतिक दलको कार्यालयमा प्रवेश गरिदैछ । बास्वतमा कलेजले विद्यार्थीलाई विद्यार्थीकै लागि सूचना प्रवाह गर्ने उद्देश्यले होर्डिङबोर्ड तथा सूचनापार्टिहरु छुट्याइदिने गरेका छन् । तर विद्यार्थीले त्यसको दूरुपयोग गर्दै आफ्ना सूचना पार्टी तथा होर्डिङबोर्डमा आफ्ना पार्टीका सर्वोच्च नेता, तीनका कमाण्डर, आफूइतर पार्टीलाई गालीगलौच गरेका व्यानरहरु टाँसेर दूरुपयोग गर्ने गरेका छन् ।

 

                     को के भन्छन् ?

सप्तगण्डकी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत सुमित चापागाईलाई यस्ता बोर्डहरु राखिएकोमा खासै मन परेको छैन । विद्यार्थीले विद्यार्थीलाईनै शिक्षा सम्बन्धी जानकारीमूलक सूचनाहरु प्रवाह गर्न यस्ता बोर्डहरुलाई प्रयोग गरे राम्रो हुने उनले बताए । यस्ता बोर्ड र सूचनाको आडमा विद्यार्थीहरुको पढाइमा हस्तक्षेप भएको उनको बुझाई छ । जुन विद्यार्थीको प्रशासनसँग पहुँच हुँदैन त्यस्ता विद्यार्थीहरुलाई होर्डिङबोर्ड राखिने सूचना प्रयोगमा आउने हो तर त्यहाँ विद्यार्थीका लागि सही सूचना हुनुपर्यो, उनले भने । उनले त कलेजमा राजनीतिनै बन्द गरे राम्रो हुने बताए ।

सोही क्याम्पसका अर्का विद्यार्थीले भने कलेज ठूलो भएकाले प्रशासनले मात्रै सवैकुरा हेर्न नसक्ने बताए । तसर्थ विद्यार्थी संगठन र होर्डिङबोर्डहरु आवश्यक रहेको तर्क उनको थियो । तर उनले भने,“अहिलेसम्म ती होर्डिङबोर्डबाट विद्यार्थीले सही सूचना पाएजस्तो चाहिँ लाग्दैन ।” यसरी होर्डिङबोर्ड राखेपछि विद्यार्थीका लागि आवश्यक सूचना राखिदिए हुने भन्दै उनले भने,“यस्ता बोर्डमा व्यक्ति र पार्टीको नाम मात्रै प्रचार प्रसार नगरदिए राम्रो हुने थियो ।”

यता बीरेन्द्र क्याम्पसमा माइक्रोबायोलोजी बीएसी प्रथमवर्षमा अध्ययनरत विन्दु कोइरालाले भने विद्यार्थी संगठनले प्रयोग गर्ने होर्डिङबोर्डहरुमा कलेजकै जानकारी गराउने सूचनाहरु भइदिए राम्रो हुने बताइन । उनले भनिन्,“नयाँ आउने विद्यार्थीले ती होर्डिङबोड हेरेर आफू पढ्ने कलेजको बारेमा धेरै जानकारी लिन सक्ने बातावरण भएमा राम्रो हुने थियो । ”

कलेज प्रशासन व्यस्त हुने र हरेक नयाँ आउने विद्यार्थीलाई सबै जानकारी दिन नसक्ने भएकाले पनि त्यस्ता बोर्डमा कलेजकै जानकारी टाँसिदिन विद्यार्थी संगठनलाई उनले अनुरोध समिते गरिन् । उनले भनिन्,“होर्डिङबोर्ड भन्दापनि अझ राम्रो त दाईहरुले पढाइ लगातार नभएकोमा चिन्ता व्यक्त गरिदिए राम्रो हुनेथियो । अहिले हाम्रो लगातार प्राक्टीकल नभएर हामी हैरानीमा छौँ। ”

होटल म्यानेजमेन्टमा स्नातक तहको पाँचौ बर्षमा अध्ययनरत बालकुमारी कलेजका मनोज पाठकले भने यस्ता बोर्डहरुले विद्यार्थीलाई सहयोग पुगेको बताए । विद्यार्थी भएपछि यूनियन चाहिने उनको तर्क थियो । उनले भने,“धेरै विद्यार्थीहरु कलेज प्रशासनको पहुँचमा सिधै पुग्न सक्दैनन् । त्यस्ता विद्यार्थीलाई विद्यार्थी संगठनले सहजीकरण गरेका हुन्छन् ।” उनले होर्डिङबोर्डमा विद्यार्थीले पार्टीको भन्दा कलेजकै सूचना प्रवाह गर्दा बढि प्रभावकारी हुने बताए ।

 यता नेविसंघ बीरेन्द्र क्याम्पसका उपाध्यक्ष कुमार जोशी भने स्ववियू निर्वाचन लामो समयसम्म नभएका कारण होर्डिङबोर्ड छरपष्ट रुपमा रहेको बताउँछन् । उनले भने,“विद्यार्थीलाई सहजीकरण गर्न विद्यार्थी संगठन चाहिन्छ नै । तर यदी समयमै स्ववियू निर्वाचन भइदिने हो भने प्रत्येक विद्यार्थी संगठनका आआफ्ना सूचना पार्टी चाहिँदैन । सवै सूचना स्ववियूकै होर्डिङबोर्डमा हेर्न सकिन्छ । ”

अहिले स्ववियू निर्वाचन नहुँदा प्रत्येक विद्यार्थी संगठनले आआफ्ना विद्यार्थी छानेर सूचना प्रवाह गर्ने परम्परा नै बसिसकेको उनको भनाइ छ । उनले कलेजमा सम्पूर्ण प्राध्यापकहरुको सम्पर्क नम्वर सहितको बोर्ड आफूहरुलेनै टाँस्न लगाएको बताए । उनले भने,“हामीले प्रशासनलाई भनेका छौँ , क्याम्पस प्रवेश गर्नासाथ देखिनेगरी कलेजकै ठूलो सूचनापार्टी निर्माण गर्नुपर्यो । ”
विद्यार्थीहरुको अस्तित्वको लागि पनि हामीले हाम्रा जानकारी गराउनुपर्ने वाध्यता रहेको उनको बुझाइ छ। उनले भने,“देशका सवै दलका ठूला नेता विद्यार्थीबाटै गएकाले हामीले पनि अहिले देखिनै राजनीति सम्बन्धी केही सिक्न र सिकाउनुपर्ने भएको छ । ”

पूर्व विद्यार्थी नेता रोहित सुवेदीले भने,“व्यक्तिगत तर्फबाट व्यवसायिक हिसावमा भन्नुपर्दा विद्यार्थीलाई पढ्नैका लागि नै अभिप्रेरित गर्ने हो । तर त्यसको अलवा हामीले विद्यार्थीलाई राजनीतिक पनि सिकाउनुपर्ने हुन्छ । क्याम्पससँग हामीले होर्डिङ बोर्डका लागि ठाउँ माग गर्ने हो त्यसपछि हाम्रो सूचना र नाराहरु त्यस स्थानमा प्रचारप्रसार गर्ने हो ।”

यता नेविसंघका पूर्व केन्द्रीय सदस्य परमेश्वर खनाल भने आफ्नो विद्यार्थी संगठनले कुनैपनि कलेजमा पार्टीको प्रचारप्रसार नगरेको दावी गरे । आफ्नो विद्यार्थी संगठनले प्राप्त गरेको होर्डिङबोर्डमा नेताको नभई विद्यार्थीकै जानकारी गराउने खालका सूचनाहरु टाँसीएको उनको दावी छ ।

बालकुमारी कलेजका क्याम्पस प्रमुख जगदिश्वर खनालले विद्यार्थीहरुलाई आफूहरुले सवै प्रकारका सूचनाहरु कक्षाकक्षासम्म पुग्ने गरी राम्रोसँग प्रवाह गरेको बताए । उनले विद्यार्थी संगठनलाई एक एक वटा होर्डिङबोर्ड उपलब्ध गराउनु राम्रो भएको बताए । उनी भन्छन्,“लोकतान्त्रीक पद्धतीमा विद्यार्थीको ठूलो भूमिका हुने भएकाले संगठनलाई महत्व दिएका हौँ । हाम्रो चाहाना सकेसम्म विद्यार्थीले आफ्नो पार्टीको भन्दा शैक्षिक स्तर सुधार्ने जानकारीमूलक सूचना टाँसीदिए राम्रो हुनेछ । ”
बीरेन्द्र क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले पहिलेदेखि चलिआएको परम्परानै भएकाले विद्यार्थीलाई यस्ता सूचना पार्टी उपलब्ध गराउनुपर्ने वाध्यता रहेको बताए ।

अधिकाँश क्याम्पस प्रमुखहरुले सूचनाहरु प्रभावकारीरुपमा उपलब्ध गराएको बताएपनि उनीहरुकै क्याम्पसको इतिहास के हो भन्नेवारे भने कहिँकतै उल्लेख गरेको भेटिदैन । क्याम्पसको कक्षाकोठा सम्बन्धी,संकाय सम्बन्धी कुनै पनि सूचनापार्टीमा उल्लेख गरेको पाइदैन। धेरै विद्यार्थीहरुले प्रशासनमा कर्मचारी नभेटिने, क्याम्पस प्रमुखकको कार्यकक्ष बन्द हुने गुनासो गरेका छन् । यति सम्मकी बीरेन्द्र बहुमुखि क्याम्पसमा आफ्नो लब्धाङ्क पत्र पाउनका लागि प्रशासनमा तीन घण्टादेखि विद्यार्थीहरु कुरिरहेको भेटिए ।

राजनीति परिस्थिती जस्तो हुन्छ विद्यार्थी नेताहरु त्यसरीनै वहीरहन्छन् । अहिले कुनैपनि कलेजमा विद्यार्थी नेताहरु भेटिदैनन् । उनीहरु आफ्नो पार्टीका कार्यक्रममा सडकमानै व्यस्त रहन्छन् । यता सूचनापार्टीमा भने आफ्ना नेताको गुणगान र विपक्षि नेताको खोइरो खन्ने खालका व्यानर र सूचनाहरु होर्डिङ बोर्डमै प्रवाह गरिरहेको देखिन्छ ।


विद्यार्थीले आफूले पाएको सुविधालाई सही सदूपयोग गरेर नयाँ तथा पुराना विद्यार्थीहरुलाई कलेजकै बारेमा सही सूचना प्रवाह गर्दा उचित हुने देखिन्छ । विद्यार्थी नेताहरुले हामी सही छौँ भनेर दिएका तर्कहरु अहिलेको अवस्थामा हास्यष्पद ठहरछन् । नेपालमा राजनीतिक दलहरु फुट्ने र नयाँ बन्ने क्रममा छन् । सोही अनुसारको विद्यार्थी संगठन निर्माण हुँदै जाँदा कुनै दिन होर्डिङ बोर्डनै राख्ने ठाउँ अभाव हुने हो की भन्ने चिन्ता पनि उत्तिकै छ।

  • प्रकाशित मिति : माघ ६, २०७७, मंगलवार ११:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८