• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

घाइते जुत्ता–चप्पलका डाक्टर रम्तेल, सडकमै कमाउँछन् मासिक ३० हजार


घाइते जुत्ता–चप्पलका डाक्टर रम्तेल, सडकमै कमाउँछन् मासिक ३० हजार

उनका पनि साच्चिकै डाक्टरकै जस्ता आफ्नै सपनाहरु रहेछन् । सडकमै बसेर देनिक गरेको आयको केही रकम जोगाएर एउटा सानो घर बनाउने धोको उनमा रहेछ ।

केपी शर्मा  -पौष २९, २०७७
चितवन । जाडो होस् या गर्मी, पानी परेको दिन बाहेक उनी बीरेन्द्र क्याम्पसको आडैमा भेटिन्छन् । प्राय फुर्सदनै नहुने उनलाई हामीले पछ्यायौँ । उनी बाहेक केही मधेशीमुलका अन्य ३, ४ जना पनि त्यहाँ थिए तर हाम्रो नजर उनमा भन्दा उनी पछाडी रहेको फ्लेक्समा पुग्यो । जसमा लेखिएको थियो , घाइते जुत्ता चप्पलको अस्पताल,डा. रामकुमार रम्तेल, ओपिडी समय देखि खाना खान छुट्याइएको समय समेत उल्लेख गरिएको उक्त फ्लेक्स नजिकै हामी गयौँ र फ्लेक्समा उल्लेख गरिएको डा. बारे बुझ्न सुरु गर्यौँ ।

रम्तेल मकवानपुर जिल्ला इपा गाउँपालिकाका रहेछन्। उनी विगत १५ बर्षदेखि मकवानपुर छोडेर बरालिदै चितवन आइपुगेको उनले बताए । उनलाई अहिले आफ्नो जन्मथलोनै विरानो भइसकेको कथा रहेछ उनीसँग । उनी १५ बर्षदेखि घर फर्किएका छैनन् । एक्लो भएर पनि होइन । परिवारमा श्रीमती, छोरा छोरी र आमा समेत रहेको उनले बताए । जुत्ताको तलुवा समाउँदै उनले भने,“खै किनहो घर जानै मन लाग्दैन । भेटघाट गर्नुपर्यो भने आमा नै आफै यहाँ आउनुहुन्छ । खर्च मागे पठाइदिन्छु ।”
सायद उनको इच्छा खासा डाक्टरनै बन्ने थियो होला । तर समय, परिस्थिती अनि गरिबीले पछ्याइरहदा उनका ती सपना सपनामै सीमित रहे होलान् ।

दैनिक १ हजार देखि १२ सय सम्म कमाउँछन उनी । काम त्यति असजिलो नभएको उनको भोगाई छ ।यो भन्दा अघि उनले नयाँ जुत्ता बनाउने कम्पनीहरुमा काठमाण्डौ पोखरा बुटवल लगायत ठाउँहरुमा समेत काम गरे । तर कमाई खासै राम्रो नभएपछि उनी अहिले २, ४ हजारको सरसामान किनेर आफ्नै जुत्ता क्लिनिक चलाइरहेका छन् । बिरेन्द्र क्याम्पसबाट सिनर्जी जाने रोडमा रहेको उनको पसलमा प्राय जसो अफिस जाने मान्छेहरु ग्राहक बनेर आउने गर्दछन् । त्यसको अलवा स्कूल र कलेजका विद्यार्थीहरु र गृहणीहरु पनि उनका मुख्य ग्राहक हुन् । उनले उप्कीएको सोल सिलाउने, हिल भाँचिएको बनाउने, जुत्ता पोलिस गर्ने, सोल फेर्ने, भित्रि तलुवा फेर्ने लगायतका कामहरु गरिरहन्छन् ।

उनको जुत्ता चप्पल अस्पतालको बोर्डमा हेर्दा अचम्म लाग्छ । उनले विहान सात देखि ११ बजेसम्मलाई ओपिडी सेवा संचालनको समय राखेका छन् । त्यसपछि ११ देखि ११ः३० सम्म उनको लञ्च बे्रक हुनेछ । त्यसपछि खुलेको उनको अस्पताल साँझ ७ बजेसम्म निरन्तर चलिरहनेछ । जहाँ उनले जुत्ता चप्पलको जर्मन तरिकाले इलाज गर्ने भनेर लेखेका छन् । त्यतिमात्रै होइन उनले अर्डर अनुसार स्कूले विद्यार्थीका लागि नयाँ जुत्ताहरु समेत तयार गर्ने गरेका छन् ।

उनी आफ्नो व्यवसायबाट अतिनै सन्तुष्ट छन् । मासिक २,३ हजार खर्च गरेर ३० हजारसम्म कमाई गरिरहेका छन् । जसले उनी आफ्नो औषधी उपचार देखि घर परिवारसम्म धानिरहेका छन् । उनमा खोका दुख्ने सोला हान्ने पुरानै रोग अहिले पनि यथावत छ । कहिलेकाँही त खोका दुखेर पसलै खोल्न नसक्ने गरेको उनले सुनाए। उनले भने,“कयौँ घाइते जुत्ताहरुलाई ठिक पारेँ तर आफूनै विरामी छु ।”
उनको काममा दत्तचित्त मात्रै होइन बोलीवचनमा पनि मीठास रहेछ। उनीकोमा आउने ग्राहक पनि अतिनै सन्तुष्ट छन् । आफ्नो घाइते जुत्ता लिएर पोलिस र मर्मत सम्हार गर्न आएका भरतपुरका गोपाल पुलामी मगर नियमित रुपमा त्यही आउने गर्छन् । उनको पछाडीको फ्लेक्स देखेरै धेरै आकर्षित हुने गरेका छन् ।

यसरी डाक्टर लेख्दा कानूनी रुपमा अप्ठरो पर्छ नि भन्ने प्रश्नमा उनले भने,“साथीलाई फ्लेक्स बनाइदिनु भनेँ उनैले यसरी बनाइदिए । त्यही प्रयोगमा ल्याएको हुँ । आखिर म पनि त साकेतिक रुपमा बुझ्दा जुत्ता चप्पलको डाक्टर नै त हुँ नि । चिर्छु, काट्छु, सिलाउँछु । लाउनै नमिल्नेलाई नयाँ जस्तै बनाइदिन्छु । ”

आरा, धागो, बाँक (काट्ने पत्तीजस्तो) र दुई तीन थरी पोलिस लगायत यी उनका अस्पतालका सामाग्री हुन् । जसले उनको जीवन धानिरहेका छन् ।

  • प्रकाशित मिति : पुस २९, २०७७, बुधवार ११:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८