• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

परिवारका सदस्य गुमाउँदा पनि वन्यजन्तु संरक्षणमै सक्रिय

  • खवरदाता

परिवारका सदस्य गुमाउँदा पनि वन्यजन्तु संरक्षणमै सक्रिय

कार्तिक–२९, २०७७

भरतपुर । चितवनको रत्ननगर नगरपालिका ७ को बद्रेनी, मध्यवर्तीको नजिक छ । शान्तिमाया तामाङको घर पनि त्यही पर्छ । वि.स २०६४ साल असोज २६ गते उनलाई ठूलो ब्रजपात पर्यो । साँढे ३ महिनाको छोरा हात्तीको आक्रमणबाट गुमाउनु परेको पीडाले अझै पनि उनलाई छट्पटी हुन्छ ।

सोही ठाउँकी नीता महतोले पनि अभिभावक गुमाउनु पर्यो । उनको सुसुरालाइ पनि गैंडाले आक्रमण गर्यो । घरमुलीलाई नै आक्रमण गरेपछि शोकसँगै परिवार कसरी धान्ने भन्ने चिन्ता थपियो ।
रत्ननगर ८ घर भएकी रुपा तामाङले सासु गुमाउनुपर्यो । मृगगुञ्ज उपभोक्ता समितिको कार्यक्षेत्रमा बसोवास गर्ने उनिसहित स्थानीयहरु यही पीडाकै वीचपनि वन्यजन्तुको संरक्षणमा सक्रिय भइरहेका छन् । परिवारका सदस्य गुमाउदा हुने पीडालाई भूलेरै भएपनि उनिहरुकै सम्झनालाइ लिएर वन्यजन्तु संरक्षणमा खटिरहेका हुन् । उनिहरुको आफन्तले जस्तै धेरैले निकुञ्ज र मध्यवर्तीमा रहेका वन्यजन्तुको आक्रमणबाट अकालमै ज्यान गुमाउनेहरु धेरै छन् तर मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने यिनै स्थानीयको सहयोगले संरक्षणमा टेवा पुगिरहेको छ ।

सदस्य गुमाउँदाको पीडा कम गर्न र वन्यजन्तुप्रति प्रतिसोधको भावना आउन नदिन पीडित परिवारका वालवालिकालाई छात्रवृत्ति दिने गरिएको छ । कक्षा १२ सम्मको शिक्षा हासिलमा सहयोग हुने गरी प्रति विद्यार्थी १५ हजार रुपैयाँ शुक्रवार पनि हस्तान्तरण गरिएको छ । वार्षिक ३० हजार रुपैयाँ यसरी उपलब्ध गराउँदै आएको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जानकारी दिएको छ ।

कोषको सहकार्यमा किन्डरीलाइफ नेपाल र जर्मन नेपाल फ्रेण्डसीप एशोसियसनको आर्थिक सहयोगमा मध्यवर्ती क्षेत्रका अति प्रभावित र गरिव परिवारलाई सम्वन्धित उपभोक्ता समितिले सिफारिस गरि पठाएका उनीहरुलाई विगत ३ वर्ष देखि यसरी छात्रृवत्ति दिइदै आएको हो । यसले अभिभावक र परिवारका सदस्य गुमाएर पर्न जाने आर्थिक भार कम हुने र संरक्षणमा सहयोग पुग्नुका साथै उच्च शिक्षा हासिल गर्न मद्दत पुग्ने कोषका प्रमुख डा बाबुराम लामिछानेले बताउँछन ।

वन्यजन्तु संरक्षण गर्दा हुने क्षतीले नकारात्मक सन्देश नभई संरक्षणमै प्रेरित गर्न यस खालका कार्यक्रमहरुलाई निरन्तरता दिने उनको भनाई छ । वन्यजन्तुको संरषण गरे चौतर्फी यसले फाइदा पुग्ने ज्ञानको विकास हुन पनि यसले सहयोग पुग्ने भन्दै उनले निकुञ्जका अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताए । कोषका संरक्षण अधिकृत अनिल प्रसाईले द्वन्द्व घटाउँदै संरक्षणमा अग्रसर गराउन र जिवनस्तरमा सहयोग साथै संरक्षणमा एकवद्वताका लागि राहत उपयोगी भएको बताउँछन ।

अहिले मृगकुञ्जका १३ र माडीका २ गरी १५ जनालाई छात्रवृत्ति दिइएको र यसले वन्यजन्तु मानववीचको द्धन्द्ध कम हुनुका साथै अभिभावक गुम्दा आर्थिक अभावले पढाई छोड्न नपर्ने कोषका सूचना अधिकारी ऋषि सुवेदीले बताए । छिट्टै अन्य क्षेत्रका मध्यवर्ती क्षेत्रमा पनि यो कार्यक्रमलाई विस्तार गर्ने उनको भनाई छ ।

मानव वन्यजन्तुको द्धन्द्धबाट अभिभावक गुमाएकै कारण पढाइ छोड्न् नपरोस भनी कार्यक्रमले सहयोग गरेको र निकुञ्ज मध्यवर्ती क्षेत्रका १ सय विद्यार्थी पढाउने लक्ष्य रहेको बताए । अहिले परीक्षण कालमै रहेकाले १५ जनालाई समावेश गरिएको उनको भनाई छ । १२ कक्षा पास हुनेले यो छात्रवृत्ति पाइरहेका छन् भने उनीहरु कक्षा पास पछि नयाँ विद्यार्थी जोडिने पनि सुवेदी बताउँछन । मध्यवर्ती क्षेत्रमा रहेको उपभोक्ता समितिसँग साझेदारी गरेर अति विपन्न र अति प्रभावित क्षेत्रका वासिन्दालाई यो सुविधा उपलब्ध गराएको र अहिले माडीमा उपभोक्ता समितिसँग मिलेर दुई वटा पाँचपाण्डपमा १२ लाखको र अयोध्यापुरीमा १२ लाखको अक्षय कोष स्थापना भएको छ । व्याजबाट आएको रकम उपभोक्ताको सिफारिसमा यसरी त्यस क्षेत्रमा पनि छात्रवृत्ती दिइदै आएको उनले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा पनि सुनाखरी उपझोक्ता समिति र कुसुम वाटीका उपभोक्ता समितिमा पनि १२÷१२ लाखको अक्षय कोष रहेको छ । सौराहामा भने कोभिडको कारणले अघिल्लो वर्ष चैत्रमा वितरण गर्नुपर्ने भएपनि हिजो २८ गते मात्रै वितरण गरिएको हो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले निकुञ्जका वन्यजन्तु जोगाउन द्धन्द्ध कम गराउने प्रयास भइरहेको र अव संरक्षणसँगै कृषि र पर्यटनलाई जोड्ने गरी कार्यक्रम ल्याउने बताउँछन । मानविय क्षती अकल्पनीय भएकाले मुत्युलाई मुल्यसँग तुलना गर्न नसकिने भएपनि क्षतीमा केही मलम लगाउन कार्यक्रमले भूमिका खेलेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले सानै देखि वन्य जन्तु संरक्षण गर्दा हुने फाइदा बुझ्न पनि वालवालिकालाई यसले मद्दत मिलेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै १२ जना मानिसले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनु परेको छ । जसमा हात्तीको आक्रमणबाट मात्रै ६ जनाले ज्यान गुमाएका छन् । स्थानीयले बसोवास रहेको ठाउँ सुरक्षित राख्न भरपर्दो विधि अपनाउन पटक पटक आग्रह भने गरिरहेका छन् । मानविय क्षती विनानै उनीहरु वन्यजन्तुको संरक्षणमा लागिरहन चाहेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७७, शनिवार ०२:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८