• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

किमाथांकाबाट प्रधानमन्त्रीले नभनेरै दिएका पाँच सन्देश र संकेत


किमाथांकाबाट प्रधानमन्त्रीले नभनेरै दिएका पाँच सन्देश र संकेत

 

काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै

कार्तिक २७, २०७७
काठमाडौँमा विरोधी नेताहरुले बढाएको दबाब र मोर्चाबन्दी छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्वोत्तर नेपालको सीमा क्षेत्रमा गएर अर्थपूर्ण भाषण गरेका छन् । उनको भाषण मात्रै होइन, बडी ल्यांग्वेज पनि अर्थपूर्ण थियो ।

पार्टीभित्र चेपुवामा पर्दै गएका र बाह्य शक्तिले पनि दबाबमा राखेको ठानिएका बेला ओलीले विरोधी खेमाप्रति प्रहार, दह्रो आत्मबल र दृढ इच्छाशक्ति एकसाथप्रस्तुत गरेका छन् । उनले भ्रमणका लागि रोजेको स्थान, समय, त्यहाँबाट अभिव्यक्त भाषण र यहीबीचमा भएका केही घटनाले आसन्न राजनीतिक परिदृश्यका केही संकेत पनि गरेका छन् ।

१. चीन र भारतलाई सन्देश

ओलीले चीनसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले स्थापना गरेका बीओपी र भारतीय लगानीको अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षण एकसाथ गरेका छन् । भारतबाट अतिक्रमित कालापानी क्षेत्रनजिक दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी राखेपछि त्यस क्षेत्रमा नेपाली राज्य पक्षको अभूतपूर्व उपस्थिति बढेको छ । कालापानीबाट भारतीय फौज हट्नुपर्ने र लिम्पियाधुरासम्मको नेपालको हक स्थापित हुनुपर्ने ऐतिहासिक र प्रस्ट अडान राखेका प्रधानमन्त्रीले चीनतर्फका बीओपी निरीक्षण गरेर सीमा मामिलामा दुवै मुलुकसँग उत्तिकै सतर्क रहेको सन्देश दिएका छन् ।

२. अरुण तेस्रो, एमाले र भारत

सम्बन्ध सुधारको प्रयासस्वरुप भारतीय उच्च अधिकारीहरुको काठमाडौँ आगमन सघन बनिरहेका बेला ओलीले भारतीय लगानीको आयोजनाको प्रगतिमा चाख राख्नु थप अर्थपूर्ण छ । २५ वर्षअघि एमालेकै अडानका कारण बिथोलिएको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना अहिले भारतीय लगानीमा अघि बढिरहेको छ । भारतको सरकारी कम्पनी सतलजले निर्माण गरिरहेको आयोजनामा उनले चासो राखेर भारतसँग आर्थिक सहकार्य गर्न चाहेको र नेपालमा भारतीय लगानी सहजीकरण गर्न तयार रहेको सन्देश पनि दिएका छन् । साथै, विगतमा एमालेका नाममा पाएको अवगाल पनि उनले यस भ्रमणबाट पखाल्न खोजेको देखिन्छ ।

३. प्रचण्डको रोइकराइ अर्थहीन

ओलीले स्पष्ट शब्दमा नेकपाको अध्यक्ष आफू र आफू मात्र रहेको बताएका छन् । त्यसकारण नेकपाको निर्णायक शक्ति र प्राधिकार आफूमा मात्र रहने प्रस्ट सन्देश दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई दिए । प्रचण्डको अगुवाइमा आफ्नो विरुद्धमा भएको चलखेलको कुनै अर्थ नरहेको उनको भनाइ छ । विभिन्न नाममा पोखिने असन्तुष्टि एवं रोइकराइ पनि औचित्यहीन सावित गरिदिएका छन्, प्रधानमन्त्री ओलीले ।

२०२८ सालमा नक्सलवारी आन्दोलनबाट प्रभावित भई झापामा सुरु गरिएको विद्रोहको विकसित रुप अहिलेको नेकपा रहेको र त्यसमा आफ्नो नेतृत्वको निरन्तरता रहेको दावी पनि ओलीले गरेका छन् । यी परिदृश्यमा प्रचण्ड र अरु नेताहरुको कद निकै होचो सावित गर्न ओलीले खोजेका छन् । त्यसैले त उनले भने, ‘म अध्यक्ष छँदै छु, तपाईँलाई पार्टीको किन चिन्ता रु’

४. जनमत आफ्नै पक्षमा

सर्वत्र असफल र बदनाम भएको सावित गर्ने विरोधीहरुको प्रयासको प्रतिवादमा ओलीले दुई तिहाइ बहुमत नजिकको जनमत आफ्नै कारणले आएको र निश्चित आकांक्षाका साथ प्राप्त भएको समर्थन अहिले पनि नडग्मगाएको देखाउन खोजेका छन् । आफ्नो रहर वा अरु कसैको कृपावापत यो पदमा नपुगेको भन्दै उनले पाँच वर्षसम्म कसैले कुर्सीमा आँखा लगाउन नहुने प्रस्ट सन्देश दिएका छन् ।

५. ओलीको उत्साह र वामदेवको आभार

केही समययता विरोधीहरुको घेराबन्दीका कारण तनावमा रहेका ओली संखुवासभामा भने निकै उत्साह, जाँगर र इच्छाशक्तिका साथ प्रस्तुत भए । ठमठम हिँडाइ र टाठो बोलीले उनी ठूलै दबाब र ऐँठनबाट उन्मुक्त भएको आभास हुन्थ्यो । उनले त्यहाँबाट चर्को स्वरमा भाषण गरिरहँदा यता वामदेव गौतम फेसबुकमा ‘आभार’ लेख्दै थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले सत्तायात्रामा लगाइदिएको अन्तरिम आदेशको तगारो फुकाइदिएपछि यता वामदेव जति प्रफुल्ल देखिन्थे, उता ओली उत्तिकै उत्साहित ।

यी घटना शृंखला बाहिर दृश्यमा प्रत्यक्ष जोडिएको नदेखिए पनि भित्रभित्र भने तालमेलपूर्ण देखिन्छन् । स्मरणीय के छ भने ओलीका एकजना विश्वासपात्र, जो सिंहदरबारमै रहेर अदालती प्रक्रियाबारे निकट चासो र जानकारी राख्छन्, उनले तिहारपछि मन्त्रिपरिषद व्यापक हेरफेर हुने यसअघि नै बताएका थिए । यसको अर्थ तिहारअघि अदालतको बाधा फुक्ने, तिहारपछि वामदेव गौतमको सत्तारोहण हुने र नेकपाको विरोधी मोर्चा छिन्नभिन्न हुने प्रस्ट बुझिन्छ ।
अझ भन्दा अब ओलीका दायाँबायाँ ईश्वर पोखरेल, वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल हुनेछन् । प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठ पुस–माघको पहारिलो घाम ताम्नेछन् । बरु बदामको व्यवस्थाचाहिँ अहिले नै गरिरहने हो कि र?

  • प्रकाशित मिति : कात्तिक २७, २०७७, बिहीवार ०२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८