• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बेमतलवीका लागि ज्यान दिँदै छन् डा.केसी


बेमतलवीका लागि ज्यान दिँदै छन् डा.केसी

नारायण दाहाल / आश्विन–२१, २०७७

काठमाडौं । इराकमा आतंकवादी समूहले नेपालीको हत्या गर्दा काठमाडौँ जल्छ । भारतीय कलाकार ऋतिक रोशनले बोल्दा काठमाडौँका गल्लीमा टायर बल्छन् । आफ्नो घरअगाडि प्रदेशको राजधानी वा पालिकाको मुकाम नहुँदा मान्छेहरु सहिद बन्न तयार छन् । तर, डा.गोविन्द केसीले गरीब जनताका छोराछोरीले पनि डाक्टर बन्ने सपना देख्न पाउनुपर्छ भन्दा किन कोही कानमा तेल हालेर बस्छन् ? डा.केसीले श्रीमानको मुटुको उपचार गर्दा श्रीमतीले मृगौला बेच्नु नपरोस् भन्दा किन कोही मुखमा दही जमाएर बस्छन् ?

बडो अचम्मको सन्नाटा अहिले देशमा देखिएको छ । अहिले मात्र होइन, जहिले पनि देखिने गरेको छ । आखिर यहाँको राजनीति कसले चलाइरहेको छ ? यहाँको सामाजिक सत्तामा कुन वर्गको बोलावाला छ ?

यी सवालमा गम्भीर मन्थन गर्ने बेला भएको छ । डा.केसीको निजी जीवन छैन । निजी सम्पत्ति छैन । परिवार पनि छैन । सम्पूर्णतः उनले समाजलाई समर्पित गरेका छन् । उनी भोकैप्यासै बसेको चौथो साता प्रवेश गरिसक्यो । यसरी उनी पटकपटक भोकै बसेर मर्न तयार भएका छन् ।

यो १९ औँ पटक हो 

उनका माग आफ्ना लागि होइनन् । उनले पढ्नुपर्ने पढिसके । खानुपर्ने खाइसके । एक थान जिन्दगी बाँच्न आफ्नै विगतको योगदानवापतको निवृत्तिभरणले पुगिहाल्छ । त्यो नभए पनि उनी कुनै अस्पतालमा एकडेढ घण्टा बिरामी हेरिदिए दैनिकी गुजार्न सक्छन् ।

त्यसैले उनले जे माग लिएर आफैलाई दुःख दिइरहेका छन्, ती अरुका लागि हुन् । अरु अर्थात् आममान्छेका लागि । आम नेपालीका लागि, जसले पैसा तिरेर डाक्टरी पढ्न सक्दैन । जसले पैसा तिरेर उपचार गर्न सक्दैन । जसले अचाक्ली पेट दुख्दा हेलिकप्टर चार्टर्ड गरेर जुम्लाबाट नेपालगञ्जसम्म बिरामी ओराल्न सक्दैन । जसले यहाँ निको नहुने रोगका लागि एयरएम्बुलेन्समा दिल्ली वा ब्यांकक पुर्याउन सक्दैन ।

अर्थात्, कम्तीमा स्वास्थ्य र शिक्षाका निम्ति नागरिकले कसैसँग हात पसार्नु नपरोस् । बलियो थैलो नहुनेले पनि गुणस्तरीय शिक्षा पढ्न र उपचार गर्न पाओस् भन्ने नै उनको माग हो ।

उनका मागबाट शासकको टाउको दुःखाइ हुनु स्वाभाविक हो, जो दलाल अर्थतन्त्रको जगमा टिक्न चाहन्छ । उनका मागबाट मेडिकल र शिक्षा क्षेत्रका माफियाहरुको टाउको दुख्नु स्वाभाविक हो, जसको नाफाखोरी चौपट हुन्छ । उनका सर्तबाट मार्सीवादीहरु सतर्क रहनु स्वाभाविक हुन्छ, जसले सत्ताको दलाली गरेर आफ्नो धन्दा चलाउँछन् ।

तर, यिनका माग पूरा हुँदा जुन वर्ग लाभान्वित हुने हो, त्यो वर्ग किन उठिरहेको छैन ? डाक्टर केसी कयौँ दिन हिँडेर रुखासुखा खाएर विकट गाउँ डुलेका छन् । तराईका मुसहरदेखि जाजरकोटका दलित बस्तीमा पुगेर बिरामीको उपचार गरेका छन् । डडेल्धुरादेखि जुम्ला पुगेर दीनहीनहरुलाई न्यानो ढाडस दिएका छन् ।

कहिल्यै डाक्टर देख्न नपाउने विकट बस्तीहरुमा पुगेर उनले घाइते अनुहारहरुमा खुसीको रङ भरेका छन् । राज्य वा सत्ताका नामबाट कहिल्यै आशा र भरोसा नपाएकाहरुकहाँ पुगेर डाक्टर केसीले आफ्नै खर्चमा जीवनप्रति आशा जगाएका छन् । शिक्षित र अगुवा वर्गप्रति भरोसा टुट्न दिएका छैनन् । तर, अहिले त्यो वर्ग पनि निस्पृह बसेको छ । मानौँ, गोविन्द केसी भनेको कोही होइन । त्यो मरोस् कि बाँचोस्, हाम्लाई बाल मतलब जसरी बसेको छ । अझ भनौँ, नुन खाएको कुखुरोजसरी झोक्राएको छ ।

हुन सक्छ, दुर्गम गाउँको त्यो अचेत समुदायसम्म डाक्टर केसीका मागको वास्तविक सन्देश पुग्न सकेको छैन । अथवा, यो सन्देश पुगेर पनि हामीले बोलेर के हुन्छ भन्ने ठानिरहेको छ । अझ उसले जान्नेबुझ्ने सडकमा निस्किएपछि मात्र आफू जाउँला भन्ने सोचिरहेको छ । सबभन्दा बलियो कारण यो पनि हुन सक्छ, डाक्टर केसी र उनका केही सहयोगीले गरिहाल्छन् त्यो काम । त्योभन्दा पनि अर्को जब्बर कारण हुन सक्छ, हामी बोलेर कसले सुन्छ ?

खास कारण यो पनि हुन सक्छ कि डाक्टर केसीले बारम्बार पालैपालो रहेका सरकारलाई झुकाएका छन् तर ती हरेक शासक र सरकारले डाक्टर केसीलाई नै छक्याएका छन् । यस्तो कहलिएको पाको डाक्टरलाई सत्ताले छक्याउँछ भने दूरदराजका जनतालाई छक्याउँदैन त ?

माथिका हरेक कारण उत्तिकै सम्भव र बलिया छन् । त्योसँगै अर्को कारण पनि छ—डाक्टर केसीले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाको कुरा गर्छन् तर भुइँ तहका जनतालाई त्यो चाहिएकै छैन । किनभने, ती जनता सके झारफुकमा भरोसा गर्छन्, झारफुकबाट विश्वास हटेकाहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गर्छन् । संसारभरका वैज्ञानिकको टाउको दुःखाइ बनेको विश्व महामारी कोरोना भाइरसको समेत प्रधानमन्त्री ओलीले सस्तो र सजिलो ओखती बताइदिन्छन् । तातो पानी खाने, हिमालतिर हेर्ने, अदुवा र बेसार सेवन गर्ने, हाछ्युँ गर्ने । कोरोना त टाप ।

देशको प्रधानमन्त्रीले यति सजिलो उपाय बताइदिन्छन् कि अस्पताल जानै पर्दैन । अस्पताल चाहिँदै चाहिँदैन । अस्पताल जानै नपरेपछि पैसा आवश्यकै भएन । देशको प्रधानमन्त्रीलाई विश्वास नगरी गर्ने पनि कसलाई ?
अझ यो वर्गले आफ्ना सन्तानले डाक्टर पढ्न सक्छन् भन्ने ठानेकै छैन ।

देशका कुलीन, राजनीतिक र सामाजिक क्षेत्रका ठग अगुवाहरुका सन्तानको आनुवांशिक अधिकारका रुपमा चिकित्सा शिक्षालाई बुझेका पनि त हुन सक्छन्, भुइँ तहका जनताले ।

हरेक आन्दोलनलाई निर्णायक बनाउने मध्यम वर्गले हो । तर, यो वर्ग अवसरवादी छ । अल्छी छ । तदर्थवादी छ । सकेसम्म आन्दोलनको झमेला लिँदैन । जोखिम मोल्दैन । त्यसैले यो यथास्थितिवादी छ । त्यही भएर त ट्वीटरमा आक्रोश पोख्नेहरु सडकमा भेटिँदैनन् । वातानुकूलित कोठाबाट निस्किने विद्रोहका आवाजहरु बाहिर निस्किँदासम्म वाष्पीकरण भएर तरलमा परिणत भइसकेका हुन्छन् ।

यो अवसरवादी वर्ग कहिले गोविन्द केसीलाई दलको झण्डा ओढाउन खोज्छ त कहिले द्वन्द्वकालीन मुद्दा र सुशासनका भारी एजेण्डा । हो, नेपाली जनतालाई न्याय पनि चाहिएको छ, सुशासन पनि चाहिएको छ । जनपक्षीय एजेण्डा किन नबोक्ने भनेर डाक्टर केसीलाई पनि लाग्दो हो । तर, राजनीतिक रङ बोकेका वा अवसरवादीहरुले भिडाएका एजेण्डाले पटकपटक उनको आन्दोलनलाई कमजोर बनाएको छ ।

नेपाली समाज तीब्र रुपमा दलीयकरणले विभाजित छ । त्यसकारण पनि डाक्टर केसीलाई दलीय राजनीतिको आँखाबाट हेर्ने तप्का ठूलो छ । त्यसकारण पनि उनको पक्षमा जनलहर उर्लिन सकेको छैन ।

ओलीगार्की र मार्सीवादीहरुको या समाजवादले डाक्टर केसीको अभियानलाई सौता ठान्नु कुनै अनौठो भएन । काठमाडौँका टाठाबाठाहरु आन्दोलन र जनपक्षीय एजेन्डालाई डाक्टर केसीको ठेक्का ठान्छन् । एनजीओका एजेन्टहरुलाई दोस्रो नन्दप्रसाद बनाउन पाए ठूलो प्रोजेक्ट पाउने दाउ होला । प्रतिपक्षी कांग्रेस लोकलाज छोप्न एक थान औपचारिक विज्ञप्ति जारी गरे धर्म निर्वाह गरेर पन्छिन्छ । अनि यस्तो समाजमा डाक्टर केसीको गान्धीपथले धोका नखाएर कसले खाओस् ?

  • प्रकाशित मिति : असोज २१, २०७७, बुधवार ०२:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८