• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नारायणी नदी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

  • संबाददाता

नारायणी नदी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

शालिग्राम नेपाल / आश्विन–८,२०७७

चितवन । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले बिहीबार दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिए । ‘नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भने । त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नं. २८ मेघौली क्षेत्र, वडा नं. १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरेको भट्टराइले जानकारी दिए ।

जिल्ला भएर बग्ने नारायणी, राप्ती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उनले जानकारी दिए । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको छ । यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेका हुन ।

सरकारले असोज महिना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमति दिए पनि पर्यटक नआउँदा चिन्तित बनेको सौराहामा बाढी पसेपछि थप चिन्ता छाएको छ । काठ र कच्ची घरहरुमा डुबानले क्षति पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई. रामविकेश रायले विहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड थियो ।

यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन विहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगरका प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरेकी छिन ।

  • प्रकाशित मिति : असोज ८, २०७७, बिहीवार १२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८