• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सरकार बनाउन ‘शक्ति’को खोजी

  • खबरदाता

सरकार बनाउन ‘शक्ति’को खोजी

मंसिर १६, २०७९

 

काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो ।

गत निर्वाचनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्टिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन भएको थियो । यस्तै, एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग तालमेल गरेको थियो । तर, दुवै गठबन्धनले निर्वाचनमा सरकार बनाउन चाहिने आवश्यक मत प्राप्त गर्न अवस्था देखिँदैन ।

सरकार बनाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित भएका १ सय ६५ र समानुपातिकतर्फबाट निर्वाचित बनेर आएका १ सय १० गरी २ सय ७५ सांसदको बहुमत अर्थात् १ सय ३८ सांसद आवश्यक पर्छ । कांग्रेसले बिहीबार रातिसम्म प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५५ सिट जितेको छ । यस्तै, समानुपातिकतर्फको मतअनुसार ३२ सिट कांग्रेसले पाउने देखिन्छ । यो सबै गर्दा कांग्रेसको ८७ सिट हुने देखिन्छ ।

यसैगरी, माओवादी केन्द्रको प्रत्यक्षमा १७ सिट सुरक्षित भइसकेको छ भने समानुपातिकमा १४ सिट पाउने अवस्था छ । दुवैतर्फ गरी माओवादी केन्द्रको ३१ सिट हुने अवस्था छ । यसैगरी, गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ भने समानुपातिकतर्फ उसले थ्रेस होल्ड कटाउँदा मात्रै सिट पाउने अवस्था छ ।

सत्ता गठबन्धनलाई ५ सिट अपुग, विपक्षीलाई ३४ सिट
सत्ता गठबन्धको सम्भावित सिट :१३३,
एमाले गठबन्धनको सम्भावित सिट :११२

यसैगरी, गठबन्धनकै अर्को दल लोसपाले प्रत्यक्षतर्फ चार सिट सुरक्षित गर्दा समानुपातिकतर्फ भने सुरक्षित देखिँदैन । राष्टिय जनमोर्चाले प्रत्यक्षतर्फ एक सिट जितेको छ । बिहीबार रातिसम्म प्राप्त परिणामअनुसार सत्ता गठबन्धनसँग १ सय ३३ सांसद हुने देखिन्छ । सत्ता गठबन्धनलाई सरकार बनाउन ५ सिट अपुग छ ।

यसैगरी, अर्को गठबन्धनको नेतृत्व गरेको दल एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ भने समानुपातिकमा उसले ३४ सिट पाउने अवस्था बिहीबार रातिसम्मको छ । सबै गर्दा एमालेको ७८ सांसद पुग्ने देखिन्छ । यस्तै, राप्रपाले प्रत्यक्षतर्फ सात सिट सुरक्षित गर्दा समानुपातिकमा सात सिट नै पाउने अवस्था छ । राप्रपाको दुवैतर्फ गर्दा १४ सिट हुन सक्छ ।

जसपाले प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पाँच सिट आउने देखिन्छ । दुवैतर्फ गर्दा जसपाको १२ सिट हुन सक्छ । यो सबै गर्दा एमाले नेतृत्वको गठबन्धनसँग १ सय १२ सांसद हुने अवस्था देखिएको छ । विपक्षी गठबन्धनलाई सरकार बनाउन ३४ सांसद अपुग हुन सक्छ ।

‘बालुवाटार’को प्राथमिकतामा सिके राउत
नयाँ सरकार गठन गर्न सत्तारूढ गठबन्धनको बहुमत नपुग्ने अवस्था बन्दै गएपछि वालुवाटारले सिके राउतले नेतृत्व गरेको दललाई पनि साथ लिन चाहेको छ । राउतले नेतृत्व गरेको जनमत पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकमा सो दलको चार सिट आउने देखिन्छ । सोही कारण प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र राउतबीच छलफल र भेटघाट तीव्र छ ।

बिहीबार राउतले प्रचण्डलाई उनको निवास खुमलटार गएर भेट्दा प्रधानमन्त्री देउवाले भने उनलाई बालुवाटारमा डाकेर भेटेका हुन् । देउवासँग कांग्रेस नेता विमलेन्द्र निधिले राउतलाई बालुवाटार पु(याएर भेटघाट गराएका हुन् । यसैगरी, राउतले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि बिहीबार नै भेट गरेका छन् ।

स्रोतका अनुसार राउत सत्ता गठबन्धनसँग जोडिएर सरकारमा जाने विषयमा सकारात्मक देखिएका छन् । तर, उनले मधेस प्रदेशको सरकारको नेतृत्वमा दाबी गर्दै गठबन्धनको धारणा मागेका छन् । यस्तै, नागरिकताको विषयमा पनि सरकार सकारात्मक बन्नुपर्ने राउतको अडान छ ।

रेशम चौधरीलाई पनि मनाउन कसरत
नयाँ सरकार गठनका लागि सबै अनौपचारिक रूपमा प्रयासलाई जारी राखेका दलहरूले रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीसँग पनि संवाद जारी राखेका छन् । सत्ता गठबन्धनले चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास गरेको छ । चौधरी नेतृत्वको दलले प्रत्यक्षमा चार सिट जितेको छ ।

नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले चौधरीसँग भेट गरी छलफल गरेको बताइएको छ । यसैगरी, स्वतन्त्रबाट निर्वाचित प्रभु साह, किरण साह र डा। अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेको छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७९, शुक्रवार ०८:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८