चैत्र २१,२०७७
बुटवल लुम्बिनी फुटबल क्लबले वैशाखको दोस्रो साताबाट काठमाडौँमा सुरु हुने तय भएको नेपाल सुपर लिग (एनएसएल) का लागी टोलीलाई मजबुत बनाउन तीन विदेशी खेलाडीसँग सम्झौता गरेको गरेको छ । क्लबले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै टोली सार्वजनिक गरेको हो ।
क्लबले प्रतियोगिताका लागि तीनै जना अफ्रिकी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ । क्लबका जनरल म्यानेजर राजुकाजी शाक्यका अनुसार ती विदेशी खेलाडी घाना, नाइजेरिया र चाँदका रहेका छन् । नाइजेरियन ओमोलाजा नुरन करिम, घानाबाट विलियम ओपोकुएसिड र चाँदका अर्मान्ड बिदमको उपस्थितिले आसन्न लिगमा बुटवललाई बलियो बनाएको छ ।
अर्मान्डले यसअघि पनि नेपालमा फुटबल खेलेका छन् । उनी गत सिजन च्यासलबाट सहिद स्मारक ए डिभिजन लिग खेल्न काठमाडौँ आए पनि लिग खेल्न पाएनन् । उनले च्यासलबाट मोफसलको प्रतियोगिता भने खेलेको छन् । बाँकी दुई खेलाडीका लागी नेपाली फुटबल नयाँ अनुभव हुने छ ।
क्लबले यस अघि नै अक्सनमार्फत १४ खेलाडीलाई लिएको छ । टोलीको मार्की खेलाडीमा गोलरक्षक विशाल श्रेष्ठ रहेका छन् भने प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् ।
क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले उपाधि जित्ने उद्देश्यले टोली तयार पारेको जनाए । ‘हामीले विदेशी खेलाडीको अनुबन्ध पनि गरिसकेका छौँ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘हामी उपाधि जित्ने लक्ष्यमा छौँ । त्यसका लागी टोलीलाई आवश्यक सबै सुविधा उपलब्ध गराउने छौँ ।’ क्लबका अनुसार प्रतियोगिताको तयारी स्वरूप खेलाडीहरूलाई अर्को साताबाट बन्द प्रशिक्षणमा राखिने छ ।
टोलीका मार्की खेलाडी विशालले प्रतियोगिताका लागि आफ्नो टोली राम्रो बनेको बताएका छन् । उनका अनुसार क्लबले अक्सनमा चाहेको केही खेलाडी नपाए पनि पाएकै सबै राम्रो भएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८