• कात्तिक २७, २०८३, शुक्रवार Friday, 13 November, 2026

चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

  • खबरदाता

चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

काठमाडौं । जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा चितवन राइनोजले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

यो जितसँगै चितवन सात अंकका साथ चौथो स्थानमा उक्लियो । टोलीले ६ खेल खेल्दा तीन जित र दुई हार व्यहोरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले प्रस्तुत गरेको ८९ रनको लक्ष्य पछ्याएको चितवनले १७।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनको जितमा डेविड मलानले सर्वाधिक ३५ रन बनाए । जुन टोलीको निम्ति निर्णायक रह्यो । पावर प्लेमै चितवनको ब्याटिङ धराशायी बनेको थियो । चितवनले पावर प्लेमा पाँच विकेट गुमाएर ४१ रन बनाएको थियो । उनी क्रिज प्रवेश गर्दा चितवनले चार ओभरमा तीन विकेट गुमाएर २७ रन बनाएको थियो । जसमा उनले १७।२ ओभरमा क्रिजमा धैर्यतापूर्वक खेल्दै टोलीको निम्ति जितको आधार तयार गरे ।

उनले कुशल मल्लसँग ३० रनको साझेदारी गरे । तर, १३।२ ओभरमा एड्ज लागेर विकेटरकिपर सन्तोष कार्कीबाट क्याच भएपछि उनीहरूबीचको साझेदारी तोडिएको थियो ।

कुशलले १५ रन बनाए । रवि बोपाराले १३ र ओपनर कमिल मिसराले १२ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । विवेक यादवले सात रन बनाए । अविजित रहेका कमलसिंह ऐरीले पनि सात रन बनाउँदा ओपनर अर्जुन साउद र कप्तान सिकन्दर राजाले रन जोड्न सकेनन् ।

यसपछि, अविजित रहेका डेविड अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरिदिएका हुन् । अब टोलीले आइतबार हुने अन्तिम खेलमा कर्णाली याक्ससँग खेल्नेछ ।

जनकपुरको निम्ति राहुलले तीन विकेट लिए । ललितले दुई र विशालले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रनको योगफल खडा गरेको थियो ।

जनकपुरले पावर प्लेबाटै कमजोर सुरुआत गर्‍यो । टोलीले पावर प्लेमा तीन विकेट गुमाएर २३ रन मात्र जोड्न सकेको थियो । कप्तान हर्मित सिंहले मध्यक्रममा इनिङ उकास्न प्रयास गरेका थिए । १०औँ ओभरमा ४० रन बनाएको स्थितिमा हर्मित क्रिज प्रवेश गरेका थिए । उनले १९.१ ओभरसम्म खेल्दै २५ रन बनाए । सो क्रममा २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

विशालले १५ रन बनाए । उनले पनि टिमलाई उकास्ने प्रयास गरेका थिए । विशालले पाँचौँ विकेटको निम्ति आदित्य मेहतासँग १८ रनको साझेदारी गरेका थिए । तर, ९ ओभरको अन्तिम बलमा क्याच भएपछि उनीहरूबीचको साझेदारी तोडिएको थियो ।

ओपनर सन्तोषले १० रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । रायन बर्लले ६ रन बनाए । ओपनर तृतराज दासले पाँच रन बनाए । आदित्य र अभिषेक तिवारीले समान चार रन बनाए । ह्यारी टेक्टर र जिम्मी निशम ‘डक’ आउट भए ।

अन्तिम विकेटमा आएका राहुलले अविजित १० रन बनाए । उनले इनिङको अन्तिम बलमा छक्का प्रहार गरेपछि जनकपुर जारी सिजनको सबैभन्दा कम स्कोर बनाउने खराब रेकर्ड बनाउनबाट जोगिएको थियो । यो सिजनको सबैभन्दा कम स्कोर सुदूरपश्चिम रोयल्स (८७ रन)को नाममा छ ।

चितवनका लागि रञ्जित कुमारले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन ओभर फ्याक्दै दुई रन खर्चिए । कप्तान शिकन्दर र कमिलले समान दुई विकेट लिए । कमलसिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए ।

हासँगै जनकपुर प्लेअफ छनोटबाट बाहिरिएको छ । टोली यस सिजन लिग चरणमा सीमित हुने दोस्रो टोली बन्यो । जनकपुरले कुल सात खेल खेल्दा चार अंक मात्र बनाउन सक्यो ।

  • प्रकाशित मिति : कात्तिक २७, २०८३, शुक्रवार २१:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८