• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

खडेरीले सुक्न थाले मकैका बोट

  • खबरदाता

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धानचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याएको बताए । झापामा लामो समयदेखि वर्षा भएको छैन ।

‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,’ उनले भने, ‘तर सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पर्ने सम्भावना छ ।’

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटीको भनाइ छ ।

किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो । तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटीको गुनासो छ ।

झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ ।

मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, बुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन् । कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो ।

झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिँचाइ आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनाले खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्‍याएको छ ।

झापा गाउँपालिकामा पाँच वर्षदेखि ‘मकै जोन’ लागू भएको छ । आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन् ।

  • प्रकाशित मिति : वैशाख २४, २०८१, सोमवार १०:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८