• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

  • रासस

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

कात्तिक- १२, २०८०

मुगु । मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।

“हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइ हामी तपाइँहरुलाई जानकारी दिन्छौँ, अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ, यति भनौँ हामी हत्यारा नजिक नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक थापा भन्छन् ।

उनका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ । सम्भवतः आजै चारैको शव परीक्षण हुने जनाइएको छ । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।

मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

मृतकका श्रीमान् दिपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौँ विमानस्थलमा ओर्लेर आज मुगु पुग्नुभएको थियो । हत्याको अनुसन्धान गर्न नेपाल प्रहरिको विशेष अनुसन्धान टोली परिचालित छ ।

 

  • प्रकाशित मिति : कात्तिक १२, २०८०, आइतवार १४:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८