टर्किए– परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खनालले नेपाली नागरिकलाई सहज रूपमा कन्सुलर सेवा उपलब्ध गराउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उनले बताए।
बिचौलियाको प्रलोभनमा परी ठूलो रकम खर्च गरेर रोजगारीका लागि टर्की पुग्ने नेपाली श्रमिक विभिन्न समस्यामा पर्ने गरेको उल्लेख गर्दै मन्त्री खनालले सुरक्षित र वैधानिक वैदेशिक रोजगारीका लागि टर्की सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्ने सम्भावनाबारे पनि अध्ययन गरिने बताए ।
समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगमा एनआरएनएले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले श्रमिकका समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
ज्ञापनपत्र बुझाउँदै एनआरएनए टर्कीका अध्यक्ष विनोद पौडेलले टर्कीमा नेपाली राजदूतावास वा नियमित कन्सुलर सेवा स्थापना गर्न माग गरे। उनले व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संस्थागत माध्यमबाट मात्र श्रमिक पठाउने व्यवस्था गर्न, श्रम शोषण र ठगी नियन्त्रण गर्न तथा घरेलु महिला श्रमिकको सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
त्यसैगरी, समस्यामा परेका तथा अलपत्र नेपाली श्रमिकको उद्धार र सहयोगका लागि स्थायी सरकारी संयन्त्र निर्माण गर्न उनले आग्रह गरे।
मन्त्री खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीमा छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८