• वैशाख ७, २०८३, सोमवार Monday, 20 April, 2026

अत्यधिक गर्मी बढेपछि बुटवलका स्कुल दुई दिन बन्द

  • खबरदाता

अत्यधिक गर्मी बढेपछि बुटवलका स्कुल दुई दिन बन्द

 

पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नग भित्रका सबै स्कुलमा बिदा दिएको छ।

बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा दिने निर्णय गरेको जनाएको हो।

केही दिनयता चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिँदा उक्त निर्णय गरेको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ।

‘चर्को गर्मीसँगै बिहानैदेखि चल्ने तातो हावाले विद्यार्थीहरूमा समस्या देखिएकाले स्कुल बिदा दिनुपर्‍यो भन्ने अभिभावकको गुनासो र सुझाव थियो, उनले भने, ‘त्यसैका आधारमा नगरभित्रका स्कुल दुई दिन बिदा दिने निर्णय गरेका हौं।’

वैशाख महिना सुरू भएदेखिनै रूपन्देही लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ।

खेतबारी र वरिपरिका वनजंगलसँगै बस्तीहरूमा लागेको आगलागी र बिहानैदेखि चल्ने तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ।

केही दिन पहिलेसम्म दिउँसो दुई(तीन बजेदेखि चल्ने गरेको तातो हावा आइतबारदेखि भने बिहानैदेखि चल्न थालेको छ। तातो हावाका कारण तापक्रम ४३ डिग्रीभन्दा माथि पुगिरहेको छ।

मंगलबार भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यसअघि वैशाख ९ गते सबभन्दा धेरै ४३.६ डिग्री सेल्सियस मापन गरिएको थियो।

अत्यधिक गर्मीका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी पर्न थालेका छन्। लामो समयदेखि पानी नपरेपछि वायुमण्डल दूषित भई मानिसहरूको स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेका छन्।

विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या बढेको छ। उच्च ज्वरो, रूघाखोकी, झाडापखाला, टाउको दुख्ने, बेहोस हुने जस्ता समस्या लिएर बिरामी आउने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक नन्दु पाठकले बताए।

अत्यधिक गर्मी, तातो हावा तथा लहरका कारण धेरै थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने जस्ता समस्या देखिने भएकोले सजग रहन उनले आग्रह गरे।

यसबाट जोगिन पर्याप्त झोलिलो पदार्थ खान र हावा चलेका समयमा घरबाहिर ननिस्किन चिकित्सकहरूले आग्रह गरेका छन्।

 

  • प्रकाशित मिति : वैशाख २०, २०८१, बिहीवार ०५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८