• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

  • खबरदाता

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ ।

आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर ३५ देखि ४० प्रतिशत मतदान भइसकेको छ।

‘दिउँसो २ बजेसम्ममा करिब ३५ देखि ४० प्रतिशत मतदान उल्लास र शान्तिपूर्ण तरिकाले भइसकेको छ’, घिमिरेले खबरहबलाई भने, ‘हामीलाई ७७वटा जिल्लाबाट विवरण आउने क्रम जारी छ। हालसम्मको तथ्यांक हेर्दा ३५ देखि ४० प्रतिशत भन्दा बढी मतदान भएको छैन।’

यसअघि निर्वाचन आयोका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७७ वटै जिल्लाबाट ६५ प्रतिशत मत खस्ने आयोगले अनुमान गरेको बताएका थिए।

निर्वाचन अधिकृतको कार्यालय हुँदै सूचना आउनुपर्ने भएकाले समय लागिरहेको घिमिरेले बताए । घिमिरेले अगाडि भने, ‘केही जिल्लाको बाहेक साढे पाँच बजेसम्म मतदान सकिने जानकारी प्राप्त भएको छ ।’

देशभर १ करोड ८९ लाख ३,६८९ जना मतदाता रहेका छन्। आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। अपरान्ह ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउने सुविधा छ।

२०७९ को निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ६७।६३ प्रतिशत खसेको थियो।

२०७९ को स्थानीय तह निर्वाचनमा ६६।८६ प्रतिशत मतदाताले मतदान गरेका थिए। स्थानीय तहको मतदानभन्दा प्रतिनिधिसभा र प्रदेशसभामा विगतका निर्वाचनमा पनि कम मतदान हुँदै आएको छ।

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार १४:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८