मंसिर १४ ,२०७७
भरतपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मापदण्ड विपरितका घरहरु यथाशीघ्र भत्काउन भरतपुर महानगरपालिकालाई आग्रह गरेका छन ।
भरतपुर विमानस्थल विस्तारका लागि मन्त्रालयले सहयोग गर्ने बताउँदै त्यसका लागि महानगरपालिकाले पनि आफूलाई थप सक्रिय बनाउन पनि उनले आग्रह गरे । सुविधा सम्पन्न विमानस्थल पनि चाहिने र घर पनि आफुले चाहे जस्ता अग्ला र नजिकै चाहिने कुरा उपयूक्त हुन नसक्ने बताउँँदै मापदण्ड विपरितका घरहरुको तुरुन्त व्यवस्थापनमा लाग्न उनले सुझाव दिए।
बिमानस्थल सगै रहेको नेपाली सेनाको ब्यारेक र घोडाफर्म अन्यत्र हट्ने र सो स्थानमा विमानस्थलको गुरूयोजना नबिग्रने गरी नेपाली सेनाको आपतकालिन एयर बेसक्याम राखिने उनले बताए । आइतबार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उनले भरतपुर विमानस्थल विस्तारको काम सुरु भैसक्यो भन्दै यसलाई सम्पन्न गर्न आइपर्ने अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका इन्जिनियर भरत आचार्यले भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार सम्बन्धी भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा महानगरप्रमुख रेनु दाहालले भरतपुर विमानस्थललाई रात्रिकालिन उडानसहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको विस्तार गर्न चाहेको बताउँदै विस्तारको क्षेत्रमा पर्ने कालीबहादुर गण र नेपाली सेनाकै घोडा प्रजनन केन्द्रलाई सेनासँगकै समन्वयमा उचित स्थानमा व्यवस्थापन गर्ने सहमति भैसकेको बताइन ।
कार्यक्रममा नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, हवाइ इन्जिनियरिङ्ग विभागका निर्देशक प्रदिप अधिकारी, कालिबहादुर गणका गणपति विज्ञानदेब खनाल लगायतले आआफ्नो धारणा राखेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८