सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । नौ प्रहरीसहित १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ओमप्रकाश मेहता छन् ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति साढे १० बजे दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सोही गाउँपालिका ३ का ३० वर्षीय महेताको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका मेहताको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।
“१८ जना घाइते हुनु भएको छ । नेपाल प्रहरीतर्फ चार, सशस्त्र प्रहरीका पाँच र प्रदर्शनकारीतर्फ नौजना घाइते हुनु भएको छ,” प्रहरी निरीक्षक पराजुलीले भने, “घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालका उपचार भइरहेको छ ।”
बोलबम यात्राका लागि राति एक समूह ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै थियो । सोही क्रममा अर्को समूहले होहल्ला भएको भन्दै विरोध गरेपछि झडपको अवस्था आएको थियो । उक्त झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८