• साउन ११, २०८३, सोमवार Monday, 27 July, 2026

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

  • खबरदाता

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच क्षेत्रमा चार किल्ला तोकेर अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति बिहान७ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरिएको हो। गएराती दुई समुह बिच सुनसरीको देवानगन्ज क्षेत्रमा झडप पछि चलेको गोली लागेर एक जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।

कफ्र्यू लागू गरिएका क्षेत्रहरूमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। आदेशअनुसार हरिनगरा बजार क्षेत्र (पूर्वमा नूनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड), भुटाहा बजार क्षेत्र (पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय), तथा कसनागंज बजार क्षेत्र (पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मा।वि।, उत्तरमा कृष्ण मा.वि. र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र) भित्र आवतजावत तथा भेला हुन पाइने छैन।

त्यस्तै घुस्की बजार क्षेत्र (पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल) र देवानगंज बजार क्षेत्र (पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय) को चार किल्ला भित्र पनि कफ्र्यू आदेश जारी गरिएको छ।

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिइएको छ। दुई समुह बिचको झडप पछि एकजनाको गोली लागेर मृत्यु भएको छ भनेँ अन्य ८ जना स्थानीय, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी घाईते भएका छन् । घाईते स्थानीयहरुलाई पनि गोली लागेको जनाईएको छ।

  • प्रकाशित मिति : साउन ११, २०८३, सोमवार ०७:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८