जो दुर्गम वासीको सेवामा रमाए……..

  • कार्तिक ०५, २०७७

कार्तिक–५, २०७७

एक दशकदेखि एकदमै दुर्गम ठाउँको रुपमा रहेको रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कालेब बुढाले डाक्टरी काम थालेको पाँच दिनमा जाजरकोट भूरकी एकजना गर्भवती महिलालाई सुत्केरी गराउन चौरजहारी अस्पताल रुकुममा ल्याइयो ।

पेटभित्र बच्चा तेर्सो परेको र हात पहिला निस्किएको हुनाले शल्यक्रिया गरेर बच्चालाई जन्म दिनु बाहेक अरू विकल्प थिएन ।

तर अस्पतालमा भने शल्यक्रिया गर्नका लागि बेहोस बनाउने स्वास्थ्यकर्मी थिएनन् । समयमै शल्यक्रिया गरेर बच्चालाई जन्म नदिए आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा देखेपछि उनले ढिला नगरी गर्भवतीलाई नेपालगञ्ज रेफर गरे ।

तर बिहान नेपालगञ्ज पठाइएकी उनै गर्भवतीलाई लिएर रातको एक बजेतिर आफन्त पुनः अस्पतालमै आए । त्यसबेला सम्ममा बच्चाको मृत्यु भैसकेको थियो भने आमाको अवस्था एकदमै गम्भीर थियो ।

आर्थिक अभावले नेपालगञ्ज लैजान नसकेको आफन्तले बताएपछि उनले जोखिम मोलेर शल्यक्रिया गरी गर्भवती महिलालाई बचाए । यो घटनाले आफ्नो सोचाइमा ठूलो परिवर्तन ल्याएको डा. बुढा बताउँछन् । उनले भने, “त्यस घटनाले मलाई सुगममा काम गर्ने सपना त्यागेर दुर्गममै बसेर विपन्न व्यक्तिको सेवा गर्ने प्रेरणा मिल्यो’’।

राष्ट्रिय चिकित्सा स्वास्थ्य प्रतिष्ठानबाट पढाइ सकेपछि काम शुरू गर्न उनी पश्चिम रुकुमको चौरजहारी अस्पतालमा आएका थिए । केही समय त्यहाँ काम गरेर सुगम जाने उनको चाहना थियो । सकेसम्म चिकित्सकहरू दुर्गममा जान नचाहने र गएपनि धेरै समय नबस्ने गरेको पाइन्छ । तर विभिन्न खालका दुःख कष्ट झेलेर दुर्गममा सेवा दिने न्यून संख्याका डाक्टरमा पर्ने कलेब बुढा विगत १० बर्षदेखि चौरजहारी अस्पतालमै दुर्गमका बिरामीको सेवामा दिनरात खटेका छन् ।
पुर्ख्यौली घर कालिकोट भएपनि डडेलधुरामा जन्मे हुर्केका उनका बुवाआमा डडेलधुरा अस्पतालमै काम गर्थे ।

अस्पतालका स्वास्थ्यकर्मीले दिनरात नभनी निःस्वार्थ रूपमा बिरामीको सेवा गरेको देखेपछि आफू पनि स्वास्थ्य क्षेत्रमा लाग्न प्रेरित भएको उनले बताए ।

भौगोलिक विकटता र आर्थिक विपन्नताले जाजरकोट, पश्चिम रुकुम, सल्यान, डोल्पा लगायतका जिल्लाका अधिकांश बिरामी बाहिर नगएर चौरजहारीमै आउँछन् ।

दुर्गममै बसेको कारण सुविधायुक्त अस्पातालसम्म जान नसक्ने कैयौँ बिरामीको ज्यान जोगाउन सफल भएको उनी सुनाउँछन् ।

बृद्ध आमा काठमाण्डौ बस्छिन् । उनी श्रीमती र बच्चासहित चौरजहारीमै बस्छन् । उनकी श्रीमती अस्पतालमै एमडीजीपी डाक्टरको रुपमा कार्यरत छिन् । दुर्गममा बसेपनि उनले सुगमका डाक्टर भन्दा केही बढी मात्रै सेवा सुविधा पाउँछन् । “पैसा कमाउन भन्दा पनि सेवा गर्न दुर्गम ठाउँ रोजेको हुँ,“ उनी भन्छन्, “आफुसँग जे छ त्यसैमा चित्त बुझाउन सक्यो भने सन्तुष्टि मिल्दो रहेछ।’’

दुर्गमको अस्पतालमा न बत्तिको भरपर्दो सुविधा छ, न आवश्यक उपकरण र पर्याप्त जनशक्ति नै छन् ।

विभिन्न अफ्ट्याराहरूमाझ उनको समूहले कर्णाली प्रदेशमै सबैभन्दा धेरै बिरामी आउने चौरजहारी अस्पताललाई धानिरहेको छ । अस्पतालमा अहिले उनीसहित एक जना एमडीजीपी र चारजना मेडिकल अधिकृत छन् । कसैको अनुपस्थितिमा उपचार सेवा प्रभावित नहोस भनेर उनीहरूले सबै प्रकारका बिरामी हेर्छन् ।
दुर्गममा विशेषज्ञ चिकित्सक नआउने भएकोले उपलब्ध जनशक्तिलाई दक्ष बनाउनुको विकल्प नभएको उनी बताउँछन् ।
सेवा भावले काम गर्दा विश्वास जित्न सफल भएकोले बिरामीको संख्या बर्षेनी बढ्दै गएको उनको भनाइ छ ।

१२ बर्षअघि उनी आउँदा बर्षमा १८ हजार बिरामीले सेवा लिन्थे अहिले त्यो संख्या करिब ७२ हजार पुगेको छ । अस्पतालले गतवर्ष दुई हजार ५ सय जनालाई शल्यक्रिया गरेर बचाएको थियो । अस्पतालमा ब्लड व्यांक छैन । बिरामीलाई रगत चाहिए कहिलेकाहीँ स्वास्थ्यकर्मी आफैले दिन्छन् ।

अस्पतालका निर्देशक डाक्टर कालेब आफैले रगत दिएर अहिलेसम्म १०–१२ जना बिरामीलाई बचाएको बताउँछन् । (विविसीबाट)

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८