• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

यी चार नेतालाई गलहत्याउन नसकेसम्म देश बन्दैन, युवाले विद्रोह गर्ने कहिले ?


यी चार नेतालाई गलहत्याउन नसकेसम्म देश बन्दैन, युवाले विद्रोह गर्ने कहिले ?

नारायण दाहाल / भाद्र– २४, २०७७

काठमाडौँ । नेपालको अहिलेको औसत उमेर भनेको साढे २४ वर्ष हो । ५२ प्रतिशतभन्दा बढी जनसंख्या २५ वर्षमुनिको छ । अर्थात् देशमा २५ वर्ष नकटेको उमेर समूहको बाहुल्य छ । तर, राजनीतिक दल, सरकार अनि संसदमा हेरौँ ।

सेतै दारी र कपाल भएका, एउटा सहयोग नभई गाडीबाट झर्न पनि मुस्किल पर्ने, अरुले नै अक्षर लेखिदिनुपर्ने, उस्तै परे पढेर पनि अरुले नै सुनाइदिनुपर्ने, अहिलेको जल्दोबल्दो समस्यासँग जोड्ने हो भने सबैजसो क्वारेन्टिन बस्नुपर्ने अवस्थाका वृद्ध एवं रोगीहरुको जमात छ ।

शीर्ष तहमा ६० नकटेको कुनै नेता छैन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र यही दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै ७० कटेका छन् । त्यस्तै कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि ७० माथिकै छन् ।

जुन देशमा २४ वर्षको जनसंख्याको वर्चस्व छ, अनि ७५ हाराहारीको नेताले शासन गर्छ । त्यो देशमा निराशा नभएर के होस् ? तीन पुस्ताअघिको सोच लिएर कसैले नाति पुस्तामाथि रजाइँ गर्न खोज्छ । हरेक क्षेत्रमा असफल हुन्छ । अनि त्यसले निराशा, वितृष्णा र आक्रोश जन्माउँछ । खासमा हाम्रो राजनीतिक अस्थिरताको जड यहाँनिर छ ।

हेरौँ, नाति पुस्ता आज कति स्मार्ट छ ? संसार देखेको छ । बुझेको छ । गुगलबाट हेर्छ । मोलिक्युलर फर्मुला हेर्छ । चन्द्रयानका रुमानी कथा पढ्छ । रकेट साइन्समा आधारित फिल्म हेर्छ । इन्टरनेटका माध्यमबाट संसार चहार्छ । बाहिरी दुनियाँको चामत्कारिक प्रगतिका कथाहरुमा हराइरहेका बेला झल्याँस्स ब्युझिन्छ र आफ्नो देश देख्छ । देशका नेताहरुतिर नियाल्छ । अनि आफैलाई धिक्कार्छ ।

नधिक्कारोस् पनि कसरी ?

संसार कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउन उछिनपाछिन गरिरहेका बेला हाम्रा देशका शासक कोरोना केही होइन भन्दै संसदमा प्रवचन दिन्छन् । बेसार पानीले ठीक पार्न सकिने गफ दिन्छन् । हिमालको वायुले प्रतिरोधी क्षमता बढाउने कुरा गर्छन् । तर, बिरामीहरु अस्पतालमा शय्या, अक्सिजन, आईसीयू र भेन्टिलेटर नपाएर मरिरहेका हुन्छन् । एउटा पूर्वाधार र जनशक्ति बढाउनेतर्फ कुनै योजना र तत्परता देखिँदैन ।

उही बासी कुरा गर्यो । म्याद गुज्रिएका टुक्का बजार्यो । समकालीन नेताका खुट्टा तान्यो । त्यसैमा विजायोत्सव मनायो । कसैले प्रश्न गरे राता आँखा तान्यो । उल्टै हकार्यो । जवाफदेही संस्कार छैन । विनयशीलताको भाव छैन । अद्यावधिक सूचना र जानकारी छैन । अमूत शब्दजालमा कार्यकर्तालाई अल्मल्याएर आफ्नो स्थान सुरक्षित गर्नु नै यस पुस्ताको मूल योग्यता हो ।

२४ वर्षेको चेतना र ७४ वर्षेको सोचका बीचमा कतै तालमेल देखिँदैन । २४ वर्षेमा विकासको व्यग्रता छ । प्रतिस्पर्धाको भाव छ । रचनात्मकताको उछाल छ । अवसर नपाउँदाको छटपटी छ । छातीभरि विशालता छ ।

विश्व ब्रम्हाण्ड हत्केलामा लिएर हिँडेको यो पुस्ताको छटपटीको भाव सुनिदिने नेतृत्व छैन ।

नेतृत्वमा छ त केवल संकीर्णता, आत्मश्लाघा र असुरक्षाभाव । उसले चाहन्छ, नयाँ पुस्ताले उसको गाथगादी नताकोस् । ऊभन्दा जान्ने अर्को नदेखियोस् । त्यसैले केही नजानीकन पनि सबथोक जानेको अभिनय गर्न यो पुस्ता विवश छ ।

यो पुस्ता लाक्षी छ । तैपनि, आफूलाई बहादुर देखाउन केही कृत्रिम शत्रु खडा गर्छ । त्यसका विरुद्ध केही दिन कोकोहोलो मच्चाउँछ । अनि आफै विजय भएको डंका पिटाउँछ । अनि त्यसैको जस खाएर केही दिन राज गर्छ । यो कृत्रिमतामा अडेको उसको आत्मविश्वास फेरि केही दिनपछि धर्मराउँछ । उही क्रिया दोहोर्याउँछ । यसबाट युवापंक्ति वाक्कदिक्क भइसकेको छ ।

तर, बुझी नसक्नु के छ भने यता समाजमा युवा पिँढी छटपटीका बीच बाँचेको छ । उसको अधैर्यपनामा यी परम्परागत शक्तिहरुले कतिले क्रान्ति गरे त कहिले प्रतिक्रान्ति । तर, दलमा आबद्ध युवा भनिएका नेताहरु कोही न कोही शीर्ष बूढाहरु नभई अड्न नसक्ने किन हो ? बूढालाई चुनौती दिन नतम्सने किन हो ? बूढालाई विस्थापित गर्न नआँट्ने किन हो ? किन यिनै छत्रछहारी चाहिने ?

राणाकालीन मनोदशामा हुर्केर अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेका नेताहरुको स्मरणशक्ति क्षीण छ । निर्णय लिने क्षमता शून्य छ । जायज अडान र विशद् तर्कको खडेरी छ । चारथरी विद्वानका विचार सुन्ने धैर्यता छैन, यिनलाई झिँजो लाग्छ ।

भुइँ तहका जनताका बीचमा गएर तिनका वेदना सुन्ने फुर्सद हुने कुरै भएन । स्कुल र कलेजमा रहेका किशोरवयका नागरिकको साक्षात्कार गर्ने न हिम्मत छ, न त आवश्यकताको बोध नै । त्यसैले देश एकातिर छ, नेता अर्कैतिर । समस्या एकातिर छ, समाधान अर्कैतिर । दुनियाँ एकातिर छ, दल अर्कैतिर ।

यो जीर्ण नेतृ्त्वलाई विदा गर्ने हो भने युवा पुस्ताले विद्रोह नगरी हुन्न । यही नेतृत्वका कारण दलहरु पनि जीर्ण भइसके । यी दलका वैचारिक धरातलमा समेत चिरा परिसके । बीपी कोइराला र पुष्पलालका पाप्रिएका विचार बोकेर हिँडेका केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुका प्रस्तुति अब खपत हुन सक्दैनन् । अनि यी बूढा नेताहरुले ओगटेको ठाउँ खाली होला र त्यस ठाउँमा पुगौँला भनेर फाइल बढुवा शैलीका युवा भनिएका नेताहरु पनि क्रमशः वानप्रस्थ हुँदै छन् ।

तसर्थ, यो दलतन्त्र र दलभित्रको प्रशासनतन्त्रभित्र युवा नेतृत्व हुर्कने सम्भावना छैन । त्यसकारण कांग्रेसमा गगन थापा, बद्री पाण्डे र प्रदीप पौडेलहरुले कांग्रेस त्याग्नुपर्छ । बेग्लै एउटा लोकतान्त्रिक युवाको नयाँ शक्ति घोषणा गर्नुपर्छ । युवाहरु अब बूढा नेताका पछि नलाग्ने प्रतीज्ञा गर्नुपर्छ ।

त्यस्तै नेकपाका रामकुमारी झाँक्री, लेखनाथ पौडेलहरुले पनि विद्रोह गर्ने आँट गर्नुपर्छ । कांग्रेसमा भन्दा कम्युनिस्ट पार्टीभित्रको प्रशासनिक संरचना अझ जब्बर छ । जनवादी केन्द्रीयताका नाममा व्यक्तिवादी सर्वसत्ताको कठोर प्रयोग यस्ता संगठनमा हुँदै आएको छ ।

बूढा नेताले आफूलाई केन्द्रमा राखेर बनाएका नियम र संरचनाबाट युवा नेतृत्वको उदय हुने सम्भावनाको कल्पना पनि गर्न सकिँदैन । शेरबहादुर देउवाले आफ्नो चार वर्षे कार्यकाल सकिँदा नसकिँदै महाधिवेशनको तयारीका नाममा एक सिन्को नभाँची एक वर्ष कार्यकाल थपिइसकेका छन् । फेरि महाधिवेशन नगर्न कोभिड बहाना बनेको छ । त्यसमा रामचन्द्र हजुरबा सही थाप्दै छन् ।

सत्तारुढ नेकपामा ओली र दाहालबीचको चोचोमोचो मिलिसकेको छ, आलोपालो नेतृत्व । कतिसम्म गैरलोकतान्त्रिक सोच छ भने अब चुनाव नगरी सहमतिबाटै नेतृत्व हस्तान्तरणमा शीर्ष नेताहरु एकमत भए अरे । अनि कहाँबाट आउँछ युवा नेतृत्व ? कहाँबाट आउँछ आधुनिक सोच ? स्मार्ट पुस्ता र राजनीतिको भेट कहाँनिर हुन्छ ? अनि यो समाज अस्थिर र अधैर्य नभएर के हुन्छ ? के युवा नेताहरुमा आँट छ देश हाँक्ने ? यदि छ भने हाँक स्वीकार गर्न सक्नुपर्छ । पार्टीभित्रै विद्रोहको शंख फुक्नुपर्छ । –वर्णन

  • प्रकाशित मिति : भदौ २४, २०७७, बुधवार ०२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८