बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र हाल गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा परिणत भएको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभाव आज (बुधबार) देखि नेपालमा पनि आंशिक रूपमा परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।
आज बिहानैदेखि काठमाडौँ उपत्यकामा भइरहेको मौसम बदली र वर्षामा पनि मनसुनसँगै बंगाल प्रणालीको प्रभाव पनि मिसिएको उनको भनाइ छ।
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना देखिएको छ। ‘तर एक-दुई स्थानमा भारी वर्षा पनि हुने आकलन छ’, उनले भने।
मौसमविद् ढकालका अनुसार हाल बंगाल प्रणालीको आंशिक रूपमा नेपालका केही स्थानमा मात्र सुरु भएको हो।
‘हाल उक्त प्रणालीको आंशिक प्रभाव कोसी, बागमती र गण्डकी प्रदेशको पूर्वी क्षेत्रमा मात्र परेको छ’, उनले भने, ‘यसको प्रभाव भोलि, पर्सि क्रमश बढ्दै जानेछ।’
उनका अनुसार मौसम महाशाखाले मंगलबार जारी गरेको विशेष बुलेटिनबमोजिम नै यस प्रणालीको ठुलो प्रभाव शुक्रबादेखि आइतबारसम्म पर्नेछ र यस अवधिमा देशका अधिकांश स्थानमा मध्यम र केही स्थानमा भारी, धेरै भारी र अति भारीसम्म वर्षा हुने सम्भावना छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८