नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनीतिक स्थिति, सांगठनिक संरचना तथा आगामी राजनीतिक रणनीति तय गर्न राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरी छलफल अगाडि बढाइएको छ ।
पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा।प्रकाशशरण महतले आर्थिक दृष्टिकोण प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका छन् । रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी नेता तथा कार्यकर्ताहरूले समूहगत रूपमा छलफल गरी सुझाव प्रस्तुत गर्नेछन् ।
शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता र पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा भेलाको औपचारिक उद्घाटन गरिएको थियो ।
विशेष महाधिवेशन र त्यसपछिका आन्तरिक विवादबीच आयोजना गरिएको यस भेलालाई इतरपक्षको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ ।
भेला सुझाव संकलन र घोषणापत्र जारी गर्दै आइतबार समापन हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८