नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा तीन बुँदे सहमति भएको छ।
प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता भएको हो।
शनिबार भएको सहमतिअनुसार पाँच वटा प्रदेशको नेतृत्व बाँडफाँट टुङ्ग्याइएको छ। जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्नेछ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने सहमति भएको छ।
मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।
पछिल्लो समय प्रदेशहरूमा बजेट निर्माणमा देखिएको असमझदारी र बजेटविहीनताको अवस्थालाई मध्यनजर गर्दै राजनीतिक स्थिरता कायम गर्न यो कदम चालिएको दुई दलले जनाएका छन्।
जनताको चाहनाअनुरूप प्रादेशिक विकासलाई अघि बढाउन संयुक्त सरकार गठन गर्ने र प्रदेश सभाहरूमा प्रभावकारी सहकार्य गर्ने निर्णय गरिएको छ। उक्त सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८