• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु

  • खबरदाता

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन सुरु

निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो ।

आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

आयेगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ ।
पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । यही माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो । रासस

  • प्रकाशित मिति : फागुन १, २०८२, शुक्रवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८