• कात्तिक २६, २०८३, बिहीवार Thursday, 12 November, 2026

उमेर हदका कारण आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

  • खबरदाता

उमेर हदका कारण आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तीन वर्ष ६ महिना जेल सजाय पूरा गरेर आज थुनामुक्त हुँदै छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा दोषी ठहर भई रायमाझीले कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा थिए ।

रायमाझीले उमेर हदको सुविधा पाउनका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । उनी कात्तिक २६ गते ६५ वर्ष पुगेका छन् । अदालतको आदेश अनुसार उनी कैदमुक्त हुन लागेका हुन् ।

उनले निवेदनसँगै जेष्ठ नागरिकका लागि ६५ वर्ष पुगेको कागज प्रमाण पेस गरेका थिए । अदालतबाट आजको मितिमा थुनामुक्त गर्न भन्दै पठाएको पत्र डिल्लिबजार कारागारमा पुगिसकेको छ ।

रायमाझी २०८० वैशाख ३१ देखि उनी थुनामा छन् । नक्कली भुटानी प्रकरणमा २०८३ असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय तोकेको थियो ।

उनलाई ठगी, राज्यविरूद्धको कसुर, संगठित अपराध कसुर गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । गत कात्तिक १३ गते काठमाडौं अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले जेष्ठ नागरिकको सुविधा प्रदान गर्ने निर्णय गर्दै कैदमुक्त गर्न आदेश दिएका थिए । जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई २५ प्रतिशतसम्म छुट दिने व्यवस्था उल्लेख छ ।

रायमाझीलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ती वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो ।

कैद छुट भए पनि जरिबाना भने सबै कसुरको व्यहोर्नुपर्नेछ ।

  • प्रकाशित मिति : कात्तिक २६, २०८३, बिहीवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८