काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । बिहीबारका लागि तय गरिएको मतदान आज हुन लागेको हो ।
महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ ।
बिहान ७ बजेबाट सुरु हुने मतदान दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । शुक्रबार साँझ ५ बजेसम्म मतदानको सबै प्रक्रिया पूरा हुने दाबी गरिएको छ ।
मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । शुक्रबार मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ । पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ । मतगणनाका लागि पाँचसय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको छ ।
यसैबीच, निर्वाचन समितिले बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको जनाएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो ।
कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८