• भदौ २९, २०८३, सोमवार Monday, 14 September, 2026

मुस्ताङमा पहिलोपटक जलवायु परिवर्तन सम्मेलन, ४२० स्थानीय तह सहभागी हुने

  • खबरदाता

मुस्ताङमा पहिलोपटक जलवायु परिवर्तन सम्मेलन, ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ- यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।

सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइतबारसम्म ४२० वटा स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए । सम्मेलनमा ३६ वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ ।

जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलनलगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’को तयारी गरिएको हो ।

सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग पुर्याइरहेका छन् । सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ वटा स्थानीय तहले नाम टिपाएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नेछिन् । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

  • प्रकाशित मिति : भदौ २९, २०८३, सोमवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८