काठमाडौँ – पाँच महिना लामो स्वास्थ्य उपचार पश्चात् स्वदेश फर्किएका कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ बनाउन, पार्टीभित्रको निराशा अन्त्य गरी आन्तरिक एकता कायम गर्न आह्वान गरेका छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा उत्रिए लगत्तै देउवाले जारी गरेको अपीलमा नयाँ पुस्तासँग हातेमालो गर्दै अघि बढ्ने घोषणा समेत गरेका छन्।
विशेष महाधिवेशनपछि नेतृत्वबाट विस्थापित भएका देउवाले आफू कुनै पद प्राप्तिका लागि नभई एक विनम्र सेवक र आजीवन नागरिकका रूपमा मुलुक र जनताको सेवा गर्न फर्किएको जनाएका छन्।
आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै उनले विगतका असहमति, विभाजन र विद्वेषका घाउहरू निको पारी प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न सबै पक्षलाई आह्वान गरेका छन्।
विस २०२० देखिको संघर्षको स्मरण गर्दै देउवाले कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई लोकतन्त्र र स्वतन्त्रताका लागि रगत बगाएको ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गरे।
बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता अग्रजहरूको त्याग कुनै पदक नभई जनताको विश्वासको पवित्र जिम्मेवारी भएको उनको भनाइ छ। युवा पुस्ताको भावना र जेनजी आन्दोलनका जायज मागहरूप्रति आफ्नो समर्थन रहेको दोर्होयाउँदै देउवाले परिर्वतनको नाममा विगतका ऐतिहासिक संघर्ष र बलिदानीलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने भाष्य स्वीकार्य नहुने जनाएका छन्।
युवाहरू अघि बढ्नुपर्ने तर सामाजिक सञ्जालको भ्युज र भ्रामक प्रचारको पछाडि नलागी विवेक र दायित्व बोधका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
मुलुकको वर्तमान राजनीतिक अवस्था र सत्ता समीकरणतर्फ लक्षित गर्दै देउवाले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन जित्ने नेता मात्र सदा स्मरणीय रहने टिप्पणी गरे। ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको आकांक्षा पूरा गर्नुपर्ने र राजनीतिक आग्रह पूर्वाग्रह साँध्न नहुने जनाउँदै लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् भन्ने सत्य कसैले भुल्न नहुने अपिलमा उल्लेख गरेका छन्।
नेपाली कांग्रेस संसदमा अंकगणितीय रूपमा सानो ठूलो भए पनि २००७ सालदेखिका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता भएकाले वर्तमान संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने उनको धारणा छ।
पार्टीभित्रको वर्तमान मतभेद र कार्यकर्तामा छाएको निराशाप्रति चिन्ता व्यक्त गर्दै देउवाले कांग्रेसभित्रको विवादले राष्ट्रियता नै कमजोर हुन सक्ने भएकाले तुरुन्तै एकताबद्ध हुन अपील गरे।
विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि पार्टीभित्रका जटिल विवादहरू समाधान गरेको आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताउँदै उनले २०३३ सालमा बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किएझैँ अहिले ४७ वर्षपछि पुनः सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याए।
सार्वजनिक जीवनमा नीति, कानुन, संविधान र नैतिकतालाई सर्वोपरि मानेर काम गरेको र आफ्नो जीवन खुला किताबजस्तै रहेको दाबी गर्दै उनले जीवनभर मुलुक, लोकतन्त्र र जनताको सर्वोत्तम हितका लागि कुनै सम्झौता नगर्ने प्रतिज्ञासमेत गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८