राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले नेपाली राजनीतिमा ठुलै चर्चा कमाएको छ।
रवि कारागारबाट छुटेपछि देखिएको राजनीतिक सक्रियता र बालेनसँगको भेटलाई राजनीतिक वृतमा चुनावी सहकार्यका रुपमा चर्चा गरिएको छ।
यो चर्चायोग्य भेट कमलपोखरीस्थित पूर्व सांसद एवम् रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा भएको हो। रवि र बालेनको भेटपछि शाहले सामाजिक सञ्जालमा कथाको सुखद् सुरुवात भएको बताएका छन्। उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन्। उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाईसमेत दिएका छन्।
कुराकानी के भयो र छलफल के मा केन्द्रित थियो भन्ने नखोलेका नेता साह भन्छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र हेइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
शाहको निवासमा बालेन र रविले पाँच घण्टा बिताएका छन्। सोमबार राति ८ बजेदेखि शाह निवासमा भेट भएका बालेन र रवि राति १ बजेमात्र त्यहाँबाट बाहिरिएका थिए।
रवि र बालेनसँगको छलफलमा रास्वपाका उपसभापति डिपी अर्यालसमेत सहभागी थिए भने बालेन समूहबाट कुमार बेनसँगै थिए। यत्ति लामो छलफल भए पनि कुनै समूहले भेटवार्ताबारे औपचारिक विषय सार्वजनिक गरेका छैनन्।
लामो भेटवार्तावार्तापछि सभापति लामिछाने र मेयर बालेन एउटै गाडीबाट बाहिरिएको दृश्य भने सामाजिक सञ्जालमा चर्चामा छ। बालेन र रविको भेट भएको घरधनी रास्वपा नेता असिम विघटित प्रतिनिधिसभाका समानुपालिक सांसद हुन्। मुस्लिम समुदायबाट शाह सांसद बनेका व्यक्ति हुन्। उनी पूर्व फिल्म निदेशकसमेत हुन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८