कात्तिक २३,२०७८
अमेरिकासँगको एमसीसी सम्झौतादेखि अदालतमा गहिरिँदो संकटका कारण सत्ता गठबन्धन नै धर्मराउन लागेका बेला मुलुकले रामचन्द्र पौडेलको नेतृत्वदायी भूमिका खोजेको छ । सत्ता गठबन्धनका सबै घटकको सोमबार बसेको बैठकले पौडेललाई सरकार सञ्चालनमा सहयोग गर्ने उच्चस्तरीय समन्वय संयन्त्रको सर्वसम्मत संयोजक चयन गरेको छ । उनले दुई महिना नेतृत्व गर्ने भनिएको छ । यिनै दुई महिना सर्वाधिक महत्त्वपूर्ण छन् ।
पौडेलको पहिलो कार्यभार अदालतको संटकमा बुद्धिमत्तापूर्ण निर्णय गर्नु रहेको छ । सत्ता गठबन्धनका सबै घटकभित्र अदालतको समस्या समाधानलाई लिएर मिश्रित धारणा बाहिर आएका छन् । सबै पक्षको धारणा बुझेर पर्याप्त अध्ययन र छानबिन गरी उचित निष्कर्षमा पुग्नुपर्ने अवस्था छ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुभन्दा सबैका कुरा सुनेर वास्तविकता पनि बुझेर निर्णय गर्न सके पौडेलले आफ्नो नेतृत्वदायी क्षमतासमेत प्रमाणित र प्रदर्शित हुनेछ ।
पौडेलले अदालतको विषयमा राजनीतिक नेतृत्व मुकदर्शक बनेर बस्न नहुने भन्दै यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । उनकै पक्षमा १२ जना केन्द्रीय नेताले लिखित वक्तव्य नै जारी गरेका छन् । शेखर कोइरालाले समेत प्रधानन्यायाधीश प्रकरणमा चुप लाग्न नमिल्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । यी विभिन्न मतलाई एक ठाउँमा राखी उचित निष्कर्ष दिन पौडेलको नेतृत्व सक्षम हुन सक्नेछ । उस्तै परे उनले अदालतसम्बद्ध पक्षहरुसँग पनि छलफल तथा उचित वातावरण निर्माण गरी निकासका लागि भूमिका खेल्न सक्नेछन् ।
यस्तै एमसीसीको विषयमा गठबन्धन दलहरुबीचमै फरकफरक दृष्टिकोण मात्र सार्वजनिक भएका छैनन्, गम्भीर कूटनीतिक दुर्घटनाको सम्भावनासमेत बढाएको छ । त्यसैले पौडेलको परिपक्व नेतृत्व पाएपछि गठबन्धनले साझा धारणा बनाउन सक्नेछ र राष्ट्रहितमा निर्णय गर्न सरकारलाई सहयोग पुग्नेछ भन्ने विश्वास लिइएको छ । लामो समयदेखि गिँजोलिएको यो विषयले उचित निकास पाउन सके गठबन्धन पनि जोगिनेछ र कूटनीतिमा हाम्रो कमजोरी पनि छताछुल्ल हुने छैन ।
यस्तै राजदूत नियुक्तिदेखि उपनिर्वाचनमा पनि गठबन्धनभित्र तालमेल मिलाउन पनि पौडेलले भूमिका खेल्नुपर्नेछ । आइतबार मात्र माओवादी नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन केही नेताको गठजोडमा परिणत भएको भन्दै असन्तोष पोखेका थिए भने एमसीसीलाई चिठी लेख्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले कसैलाई पत्त नदिएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले सशंय व्यक्त गरेका थिए । माधव नेपालको पनि यसमा असहमति थियो । अब यस्ता विषयको उचित विन्यासका निम्ति पनि उच्चस्तरीय संयन्त्रजस्तो ठाउँ बनेको छ।
कांग्रेसभित्र महाधिवेशनको रडाको चलिरहेका बेला पौडेललाई दिइएको यस भूमिकाको पनि विशेष अर्थ छ । यसले कांग्रेसभित्रको राजनीतिक शक्ति सन्तुलन कता ढल्किँदै छ भन्ने संकेत पनि दिन्छ ।
खासमा देउवालाई प्रधानमन्त्री बनाउन पनि पौडेलको महत्त्वपूर्ण भूमिका छ । देउवाले ओलीसँगै लवज मिलाइरहँदा प्रतिनिधि सभा विघटनविरुद्ध पौडेल खरोरुपमा उत्रिएका थिए । पौडेलले नै सत्ताको नेतृत्व गर्न कांग्रेस अघि सर्नुपर्ने भन्दै पार्टीभित्र निकै जोडबल गरेका थिए । देउवा निकै ढिलो गरी विघटनको विपक्षमा उत्रिएका थिए । यही विषयलाई लिएर पौडेल र देउवाबीच सार्वजनिक कार्यक्रममै भनाभनसमेत भएको थियो । यस हिसाबले हेर्दा हालको राजनीतिक ‘कोर्स’का परिकल्पनाकार पनि पौडेल नै हुन् । र, यसको सही नेतृत्व पनि उनैले गर्न सक्छन् भनेर समयले उनलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । आगे आफूलाई प्रमाणित गर्ने दायित्व भने पौडेलकै काँधमा छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८