• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि

  • खबरदाता

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि

बैशाख २९,२०७८

सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ जारी गरेको हो ।

यही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अस्पतालहरूको माग, क्षमता र अवस्था हेरेर अक्सिजन वितरण गरिनेछ । स्वास्थ्य मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन अब सीसीएमसीले तोकेअनुसार वितरण गर्ने व्यवस्था कार्यविधिमा छ ।

बजारको माग थेग्नेगरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरूको अनुगमन शुरू गरिसकेको र सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिसकेको सिंहदरबारमा मंगलवार बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले जानकारी दिए । अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे बैठकमा जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै नौओटै ग्यास उद्योगहरूको अनुगमन गरी विवरण संकलन गरिएको बताए ।

अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको पनि उनले बताए ।

अस्पतालहरूलाई वितरण गर्न अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिन्डरहरू संकलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

सीसीएमसीले ‘बाँचौं र बचाऔं’ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । सीसीएमसीले काठमाडौं उपत्यका र काभ्रेका उद्योग समेतमा गरी दैनिक ७ हजार २ सय सिलिन्डर अक्सिजन उत्पादन भइरहेको बताएको छ ।

तर, अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिन्डर उत्पादन हुने गरेको बताएको छ । संघले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन पनि भनेको छ । उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यावहारिक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराइरहेकाका लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ ।

उनीहरूका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले बताएको छ । सरकारले अक्सिजनको मेडिकलबाहेक अन्य प्रयोगमा यसअघि नै रोक लगाएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरूमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको बरालले जानकारी दिएका छन् ।

  • प्रकाशित मिति : वैशाख २९, २०७८, बुधवार ००:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८