• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

बिर्तामोडको एक ग्यारेजको क्यान्टिनमा आगलागी, वृद्धको जलेर मृत्यु

  • खबरदाता

बिर्तामोडको एक ग्यारेजको क्यान्टिनमा आगलागी, वृद्धको जलेर मृत्यु

झापा- झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा बिहीबार बिहान भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ।
स्थानीय ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड–४ का रवी राजवंशीले सञ्चालन गर्दै आएको बडी ग्यारेज (ठूला सवारी साधन मर्मत केन्द्र)को क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी भएको हो।

बिहान करिब ४:१० बजे सुरु भएको आगो नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा ४:३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगो नियन्त्रणमा आएपछि गरिएको अनुसन्धानका क्रममा क्यान्टिनभित्र काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, नगद १ लाख रुपैयाँ तथा तीनवटा खसीबाख्रा जलेर नष्ट भएका छन्। क्यान्टिनतर्फ मात्रै करिब ३ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यस्तै, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायलको गोदाममा समेत सामान्य आगो सल्केको थियो। दमकलको सहायताले आगो निभाउने क्रममा गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट पानीले भिज्दा करिब २५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
घटनासम्बन्धी थप क्षतिको यकिन विवरण संकलन गर्ने र आवश्यक अनुसन्धान अघि बढाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : कात्तिक ५, २०८३, बिहीवार १०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८