• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कालिगड अभाबमा बढ्यो गरगहनाको आयात

  • खबरदाता

कालिगड अभाबमा बढ्यो गरगहनाको आयात

बैशाख- २८,२०७८
चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ ।

चैत महीनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो ।

चालू आवको ८ महीनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महीनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनससम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महीनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ ।

कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरहगनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए ।

‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् ।

वैशाखमा हुने विवाह कार्यक्रमका लागि माग बढ्दै गएपछि त्यसअनुसार सुनका गरगहना बनाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसको असरले चैतमा सुनका गरगहनाको आयात ह्वात्तै बढेको हो ।’ सामान्यतया नेपालमा बन्न नसक्ने विदेशी डिजाइनका गरगहना आयात गरिन्छ । यसपटक नेपालमा कालीगढको अभाव भएपछि नेपालमै बन्ने डिजाइनका गरगहना पनि आयात गरिएको व्यवसायीहरू बताउँछन् ।

गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ६० लाख बराबरको गरगहना आयात भएको थियो । वार्षिक विन्दुगत आधारमा पनि सुनका गरगहनाको आयात १५० प्रतिशतले बढेको देखिन्छ ।

पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ ।

पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन थालेका छन् । फलस्वरूप सुनका गरगहनाको आयात बढ्न थालेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुनका गरगहनाको आयात अस्वाभाविक रहेको बताए । सरकारले यसलाई विस्थापन गर्नेगरी नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सुनका गरगहना आयात गर्नुभन्दा काँचो सुन नै आयात गर्नु फाइदाजनक हुन्छ । यसका लागि सरकारले सही नीति ल्याउनुपर्छ ।’

  • प्रकाशित मिति : वैशाख २८, २०७८, मंगलवार ००:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८