• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

बिमामा कडाइ :तीन बर्षसम्म सरेन्डर गर्न र कर्जा लिन नपाइने

  • खबरदाता

बिमामा कडाइ :तीन बर्षसम्म सरेन्डर गर्न र कर्जा लिन नपाइने

चैत्र २९,२०७७

अब बीमितले एकल बीमा पोलिसी किनेकोे ३ वर्षसम्म बीमालेख सरेन्डर (त्याग) गर्न नपाउने भएका छन् । सोही अवधिसम्म बीमालेख धितो राखेर सम्बद्ध जीवन बीमा कम्पनीबाट कर्जा लिन पनि नपाउने व्यवस्था गरिएको छ ।

बीमा समितिले गत हप्ता १९ जीवन बीमा कम्पनीहरूलाई आन्तरिक रूपमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रअनुसार अब बीमा कम्पनीहरूले एकल बीमा पोलिसी विक्री गरेको ३ वर्षसम्म ग्राहकबाट सरेन्डर लिन पाउने छैनन् । साथै, पोलिसी विक्री गरेको सोही अवधिसम्म पनि बीमालेख धितो राखेर कर्जा दिन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि एकल बीमा पोलिसी विक्री गरेको २ वर्षपछि मात्र बीमालेख धितो राखेर कर्जा दिने पाइने व्यवस्था थियो । तर, पोलिसी सरेन्डरको विषयमा कुनै समयसीमा तोकिएको थिएन । अहिले बीमा समितिले ३ वर्षपछि मात्रा पोलिसी सरेन्डर गर्न पाउने र बीमालेख धितो राखेर कर्जा पाउने व्यवस्था गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकल बीमा पोलिसीमा विकृति बढेपछि यस्तो व्यवस्था गरिएको बताए । एकल बीमा पोलिसीमा सरेन्डरको मात्रा बढेपछि यस्तो कदम उठाइएको उनको भनाइ छ ।

‘यस्तो बीमा योजनामा ग्राहकले छोटो समयमा नै पोलिसी सरेन्डर गरेको देखियो । अब छोटो समयमा नै पोलिसी सरेन्डर गर्ने भए बीमा गर्न आवश्यक किन रु यसरी बीमा गर्नुको महत्त्व देखिएन,’ आर्थिक अभियानसँग उनले भने, ‘त्यसैले पोलिसी सरेन्डरमा समय सीमा तोकेका हौं ।’ पोलिसी सरेन्डरमा समयसीमा नतोक्दा समस्या देखिएको बताइएको छ । एकल बीमालेख धितो राखेर अव्यवस्थित रूपमा कर्जा प्रवाह गरेपछि त्यसमा पनि समय सीमा तोकिएको समितिको भनाइ छ ।

ग्राहकले तिर्नुपर्ने सम्पूर्ण बीमाशुल्क वार्षिक किस्तामा नभएर एकैपटक भुक्तानी गरिने बीमा नै एकल बीमा हो । तर, यस्तो बीमामा पछिल्लो समय विभिन्न विकृति देखिन थालेको थियो । त्यसपछि बीमा समितिले केही समयअघि गत फागुनमा जारी भएका एकल बीमा पोलिसीहरूको विवरण पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

कम्पनीहरूबाट प्राप्त विवरणसहित थप अध्ययन गरेर समितिले यस्तो निर्णय गरेको हो । अध्ययनको क्रममा बीमा कम्पनीहरूले तोकिएभन्दा बढी पोलिसी जारी गरेको, बीमा कम्पनीहरूले पहिलो वर्ष बीमा गराएर दोस्रो वर्ष सरेन्डर गराउनेजस्ता विकृति देखिएको थियो । त्यसैले एकल बीमा पोलिसीको व्यवसायलाई थप कडाइ गरिएको बीमा समितिका एक उच्च अधिकारीले बताए ।

  • प्रकाशित मिति : चैत २९, २०७७, आइतवार ०१:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८