• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

यसै साताबाट खेलकुदमा नयाँ समीकरण

  • खवरदाता

यसै साताबाट खेलकुदमा नयाँ समीकरण

खबर मुलुक विशेष रिपोर्ट

पौष–२५, २०७७

चितवन । नेकपा विभाजनको असर यसका खेलकुद विकासमा पनि परेको छ । नेपाल खेलकुद महासङ्घमा दाहाल नेपाल पक्षको प्रभाव रहे पछि अहिले ओली पक्षले नयाँ रणनीति लिएको छ । त्यसो त कराँतेकर्मी ओमकृष्ण प्रसाईँ, राखेप सदस्य सचिव रमेश सिलवाल, खेलकुद महासङ्घकी सचिवालय सदस्य शान्त माया परियार र गोजुरियो कराँते सङ्घका अध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती केन्द्रीय सदस्यमा चयन भए । परन्तु, खेलकुदकै सङ्गठनमा प्रभाव भने अझ दाहाल नेपाल पक्षको रहेको छ ।

एमाले माओवादी गठबन्धन अघि एमालेमा ओली कित्ताको नेतृत्व कर्ण थापाले गरेका थिए । उनी नै इन्चार्ज हुँदा नयाँ समूह तयार भएको थियो । एमालेको बुटवल महाधिवेशनमा पराजित पुरुषोत्तम पौडेलको नेतृत्वमा युवा सङ्घको लहान अधिवेशन र अखिलको अधिवेशनमा हार्नेहरूलाई प्राथमिकतामा राख्दै खेलकुद महासङ्घ गठन भएको थियो । यसै खेलकुद महासङ्घको काठमाडौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवार बनेका झापाका मेघराज पौडेललाई मत गणना स्थलमा उम्मेदवार र उम्मेदवारको प्रतिनिधि सहित नराखी मत गणना गरेर हराइएको थियो । यस पछि नै नेपाली खेलकुदमा पौडेलको नेतृत्वमा ओली समूहको गतिविधि बढेको थियो ।

अहिले ओलीले गठन गरेको केन्द्रीय समिति हेर्दा खेलकुदमा कर्ण थापाको भूमिकालाई नजरअन्दाज गरिएको ओली समूह निकट धेरै व्यक्तिको मत समेत रहेको छ । यसो त पूर्व खेलकुद मन्त्री जगत सुनार र रमेश सिलवालले आफू अनुकूल मान्छे परिषद्मा राखे पनि सिलवालका अलावा पुरेन्द्र विक्रम लाखे र सुवर्ण श्रेष्ठ मात्र ओली कित्तामा रहेका छन् । गोविन्द भट्टराईको भूमिका अस्थिर मानिए पछि त्यो कित्तामा अझ ठुलो भूकम्प गएको छ ।

यसै बिच वर्तमान खेलकुद मन्त्री दावा तामाङ र गृहमन्त्री राम बहादुर थापाको पहलमा पूर्व माओवादी निकट खेलकर्मीको भेला हुने भएको छ । २८ पुसमा हुने यो भेलाले ओली नेतृत्वमा रहेको नेकपाको पक्षमा आफ्नो एकबद्धता जनाउने छ । यो एकबद्धतासँगै ओली कित्तामा नयाँ समीकरणको सुरुवात हुने छ ।

त्यसो त वर्तमान सदस्य सचिव लगायतबाट खेलकुदमा प्रभाव नहुने छाँटकाँट देखिए पछि यो भेलाले अर्थ बोक्ने भएको छ । त्यसो त ओली समूहलाई अर्को धक्का राखेप उपाध्यक्ष शिव कोइरालाबाट पनि भएको हो । कोइराला मन्त्री सुनारको सिफारिसमा परिषद्मा आए पनि अहिले उनी दाहाल नेपा पक्षमा रहने सम्भावना बलियो रहेको छ । यत्ति मात्र होइन, परिषद् उपाध्यक्षको रूपमा पनि जुन समूहको प्रतिनिधित्व गर्दै उनी आएका थिए, त्यो समूह नै आजित भएको चर्चा चलेको छ ।
ओली निकट सबै व्यक्ति खेल गतिविधि र साङ्गठनिक गतिविधिमा भन्दा बढी व्यक्तिगत लोभ लालचमा फसेका कारण जति राजनीतिकरण गरे पनि नेपाली खेलकुदमा दाहाल नेपाल पक्षीय नेकपाको पकड अझै बलियो रहेको समीक्षकहरूको मत छ ।

पूर्व माओवादी कित्तामा रहेका सांसद कुसुम श्रेष्ठ लगायतले दाहाल नेपाल समूहलाई साथ दिइसकेका छन् । यस कारण ओली कित्तालाई एउटा महत्त्वपूर्ण शक्तिको आवश्यकता थियो । यसै बिच मन्त्री सुनारको स्थानमा दावा ल्याउने निर्णयलाई यही भेलाले सही साबित गर्ने ओली निकट खेल समीक्षकहरूले अनुमान गरेका छन् । सायद २८ पुसको त्यो भेला नेपाली खेलकुदमा नयाँ तरङ्ग ल्याउने र एउटा समूहको बलियो रूपमा खेलकुदमा उपस्थिति हुने अनुमान गर्न सकिन्छ ।

  • प्रकाशित मिति : पुस २५, २०७७, शनिवार ०३:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८