• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दोस्रो लहरको जोखिम अझै टरेको छैन : डा. कोईराला


दोस्रो लहरको जोखिम अझै टरेको छैन : डा. कोईराला

डा.विश्वनाथ कोइराला, ओम अस्पतालका मेडिकल डाइरेक्टर । डा. कोइरालासँग नेपालमा कोरोना महामारीको वर्तमान अवस्था तथा नेपालको स्वास्थ्य क्षेत्रको विषयमा गरिएको कुराकानीको सार संक्षेप –

काठमाडौँ लगायत स्थानमा कोरोना सङ्क्रमणको जोखिम घटेको हो ?

अहिलेको तथ्याङ्क हेर्दा केही घटेको जस्तो देखिन्छ । सायद धेरै माइल्ड सिनड्रोम भएकाहरूले परीक्षण नगराएको कारण पनि यसो हुन सक्छ । तर, अस्पतालका कोभिड वार्डहरू धेरै खाली भएका छन् । अहिले आइसियु र भेन्टिलेटरको दबाब पनि कम हुन थालेको छ । तर, यसको मतलब ढुक्क हुने होइन । यो घट्दै गए पनि कुनै समय दोस्रो लहरको जोखिम पनि रहन सक्छ । यस कारण, अहिले नै यसै भनिने अवस्था होइन ।

नेपालीहरूको जीवनशैली र हेलचेक्र्याइँ अनुसार जुन भयावह अवस्था हुनु पर्ने त्यो चाहिँ नभएको हो ?

हामी कहाँ सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने तथा नियमित साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने कुरामा धेरै लापरबाही देखियो । यो लापरबाही अनुसार भयावह अवस्था नदेखिएको साँचो हो । सायद, नेपालीहरू पहिले नै धुवाँ धुलो लगायत प्रतिकुल अवस्थामा बाँचेको कारण इम्युन विकास भइसकेको हुन्छ । दोस्रो कारण भाइरस हामी कहाँ आइपुग्दा जेनेटीक परिवर्तन भएर नेपालमा कम स्ट्रेनको भाइरस भएर पनि हुन सक्छ । यसका साथै युरोप र पश्चिमी देशहरूमा त्यहाँको स्वास्थ्य अवस्थाका कारण एकदमै वृद्धहरू पनि जीवित रहेको अवस्था हो । अहिले कोरोना महामारीले ती वृद्धहरू र खास गरी केयर होममा प्रभाव परेका कारण पश्चिमी देशहरूमा मृत्यु दर धेरै रहेको हो ।

भारतमा एउटा रिसर्चले भारतीय जिन नै कोरोना भाइरसका लागि धेरै अनुकूल नभएकाले मृत्यु दर कम रहेको जनाइयो । नेपालमा पनि त्यस्तै केही कारण हुन त सक्दैन ?
यस विषयमा यसै भन्न सकिँदैन । किनकि हामी कहाँ यसको अभ्यास नै भएको छैन । यस्ता विषयमा नेपालमा अध्ययन हुने गरेको छैन ।

काठमाडौँ सहरमा हर्ड इम्युनिटीकै विकास हुने अवस्था त आएको होइन ?

यसका लागि ६५ देखि ७० प्रतिशत सङ्क्रमित भएको हुनु पर्छ । अहिले कति सङ्क्रमित भनेर थाहा पाउन सिरो प्रीभलेन्स गर्नु पर्ने हुन्छ । यसको डाटा बाट मात्र हामीले भन्न सक्छौ ।

नेपालमा कोरोनाको भ्याक्सिन कहिले आउन सक्छ ?

यो हामी भन्दा पनि बढी सरकारी अधिकारीलाई जानकारी हुने विषय हो । हामीलाई जानकारी भए अनुसार सबै एकै ठाउँबाट ल्याइने प्रयास भएको छ ।

यहाँकै विचारमा नेपालको अवस्था सामान्य हुन कत्ति समय लाग्छ होला ?

यो पनि यकिन भन्न कठिन हो । तर, सामान्यतया एक वर्ष लाग्छ होला । भ्याक्सिन आए पछिका दुई या तिन महिना त पक्कै लाग्छ । सामान्य जनजीवनमा फर्कन त ७० प्रतिसतलाई भ्याक्सिन दिन आवश्यक हुन्छ ।

एन्टीबडी चेक गर्दै भ्याक्सिन दिन मिल्दैन र ?

पहिला एन्टीबडी चेक अनि भ्याक्सिन झनै खर्चिलो र अव्यवहारिक हुन्छ । भर्खरै सङ्क्रमित भएकाको हकमा भ्याक्सिन दिन छाडेर अन्यलाई लगाउन भने मिल्छ ।

“भनरेबल ”ग्रुपलाई भ्याक्सिन दिँदै मृत्यु दर घटाउँदै लैजान र जनजीवन सामान्य बनाउन त मिल्छ नि होइन ?

त्यसो गर्न सकिन्छ । त, नेपालमा भनरेबल ग्रुप भनेर तथ्याङ्क छैन । मधुमेह जस्ता दिर्घरोगका बिरामी, वृद्धलाई भ्याक्सिन दिएर मृत्यु दर घटाउने तथा भिडभाडमा काम गर्ने तथा सामाजिक दुरी अपनाउन कठिन हुने चिकित्सक, सरकारी कार्यालयका कर्मचारी, पसलमा रहने लगायतलाई भ्याक्सिन दिँदै चेन ब्रेक गर्न सकिन्छ ।

  • प्रकाशित मिति : पुस १, २०७७, बुधवार ०१:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८