• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

१८ दिनपछि खुल्यो कालीगण्डकी पुल, करिडोर क्षेत्रका यात्रुलाई सहज

  • खबरदाता

१८ दिनपछि खुल्यो कालीगण्डकी पुल, करिडोर क्षेत्रका यात्रुलाई सहज

दमौली (तनहुँ)- कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।

तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो ।

नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो । दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।

उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत काम गरेको थियो । पुल पुनःसञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायत स्थानमा आवतजावत सहज हुनाका साथै स्थानीय नागरिक, यात्रु तथा मालसामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।

करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन अलपत्र परेका थिए । गाउँपालिकाका अध्यक्ष थापाले पुल सञ्चालनमा आएसँगै दसैँको बेलामा नागरिकलाई राहत मिलेको बताए ।

  • प्रकाशित मिति : असोज २९, २०८३, बिहीवार ०५:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८