• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछः सुरेन्द्र पाण्डे


अर्कालाई जलाउँछु भनेर जंगलमा लगाएको आगोले आफैँलाई जलाउँछः सुरेन्द्र पाण्डे

मंसिर–७, २०७७

शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रमलाई नेकपाकै कार्यकर्ताले विथोल्ने प्रयास गरे । चितवनको राप्ती नगरपालिकामा भइरहेको बैठक कक्षमा पसेर एकाएक केही युवाहरुले नाराबाजी र होहल्ला गरे ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका पाण्डे सहभागी कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली समर्थक पक्षले त्यस्तो होहल्ला र नाराबाजी गरेको हो । पाण्डेकै भनाइमा त्यसरी होहल्ला गर्नेहरु केपी ओलीलाई ‘बा’ भन्ने र ढोग्नेहरु हुन् । जसमा मुख्यमन्त्री र मन्त्रीका आफन्तहरु रहेको पाण्डे बताउँछन् ।

उक्त घटनालाई नेता माधवकुमार नेपाल र झलनाथ खनालले शनिबारै विज्ञप्ति निकालेर भत्सर्ना गर्दै कारवाहीको माग गरेका छन् । घटनास्थल पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । नेता पाण्डेसँग कसरी त्यस्तो घटना हुनपुग्यो भन्नेबारे बुझ्न गरेको संवाद –

चितवनमा भएको घटना कस्तो हो, किन त्यस्तो भयो ?

–चितवनको राप्ती नगरपालिकाको बैठक थियो । नेता सहभागी हुने भएपछि बैठकमा अलिकति पार्टीमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्छ भन्ने कार्यकर्ताको भनाइ रह्यो । पार्टीमा उत्पन्न परिस्थिति, बैठकमा आएका दस्तावेजका कुराहरु र पार्टी फुट्छ भन्ने हल्ला चलेका बेलामा यस्तो जिज्ञासा उठ्नु स्वभाविक हो ।

त्यही भनेर म भन्दा अगाडि दुईजना केन्द्रीय सदस्य चितवनका इन्चार्ज र सहइन्चार्ज कृष्ण खनाल र ईश्वरी भट्टराइले बोल्नुभएको थियो । कार्यकर्ताहरुले पार्टीमा के भएको छ भन्ने जान्न चाहेको र तपाईंले बताइदिनुपर्यो भनेर मलाई उहाँहरुले भन्नुभयो । अर्को जिल्लाको सचिवालय सदस्यले पनि बोलिसक्नुभएको थियो ।

त्यसपछि मेयरले बोल्दा पनि पार्टीभित्र गुटको छनक देखियो । मेयरसँग आएका १० जनाजति मानिसहरु कार्यक्रम हलमा फटाफट भित्र छिरेका थिए । उनीहरु एकै ठाउँमा बसेका थिए । जब मेयरलाई आसन ग्रहणका लागि उद्घोषकले बोलाए, उनीहरुले तरर ताली पड्काए । अरुलाई बोलाउँदा भने उनीहरु सुनेका नसुन्यै गर्थे । त्यसले पनि केही छ भन्ने बुझ्न सकिन्थ्यो । त्यसपछि उनीहरु केही सल्लाह गरेर आएका हुन् भन्ने अरु मानिसहरुलाई अनुभूति पनि भैसकेको थियो ।

तपाईंले चाहिँ के बोल्नुभएको थियो त्यहाँ ?

–मैले बोल्न थालेँ । मैले पार्टीमा कार्यदल बन्यो । कार्यदलले सिफारिस ग¥यो । त्यो सिफारिसमा हामीले पार्टीमा झगडाको कारणमध्ये एक कारण फाउन्डेसनहरु बने । ती फाउन्डेसनहरु पार्टी नेताका नाममा छन् । नेताका नाममा हुँदा विरोध गर्न पनि गाह्रो तर ती फाउण्डेसनहरु चाहिँ गुटबन्दी र झगडाका आधार बनेका छन् भनेर सहमतिका साथ जानुपर्छ र त्यसका सर्कुलहरु पनि जारी भएका छन् भन्दै थिएँ ।

त्यसैबेला तलबाट उठेर मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जवज जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद र घरीघरी पार्टी एकता जिन्दावाद भन्दै नारा लगाउन थाले ।

तपाईंको गृहजिल्ला, त्यसमाथि निर्वाचन क्षेत्र पनि हो । त्यही स्थानमा आएर त्यसरी कार्यक्रम विथोल्ने मानिसहरुलाई त चिन्नुहोला नि ?

–किन नचिन्नु ? चिन्छु । त्यसको अगुवाई गर्नेमध्येको एक जगन्नाथ थपलिया भन्नेको छोरो हो । जगन्नाथ थपलिया प्रदेश मुख्यमन्त्रीका सल्लाहकार हुन् । यसभन्दा अगाडि नेकपा एमालेको जिल्ला कमिटीका अध्यक्ष पनि हुन् जगन्नाथ, उनकै छोरा ।

ती मात्रै होइन उनका ससुरा प्रदेशका मन्त्री पनि छन् दावा लामा । यता जगन्नाथका छोरा, उता दावा लामाको ज्वाईंको अगुवाईमा घटना भएको हो । केपी कमरेडलाई भेट्दा ‘बा’ भनेर हातमा ढोग्छ, त्यो केटाले । अर्को दावाको छोरो र पीए । अर्को दावासँगै हिँड्ने केदार आचार्य ।

उनीहरु कार्यक्रम विथोल्न योजनावद्ध ढंगले आएका हुन् वा अपझर्ट त्यो अवस्था आइलाग्यो के भन्नुहुन्छ ? अथवा तपाईंमाथि आक्रमण प्रयास पनि भयो कि ?

–नाराबाजी गरे । आक्रमण त के गर्न सक्थे र ? मेरै गाउँ पनि हो त्यो । उनीहरुलाई यहाँ धेरै ग¥यो भने हामी टिक्दैनौ भन्ने पनि थाहा छ । उनीहरुको त्यहाँ भाँजो हाल्ने उद्देश्य देखिन्छ ।

नेकपामा विवाद भइरहेका बेला यसरी पार्टीकै जिम्मेवार व्यक्तिका आफन्तहरुबाट भएको यो कस्तो संस्कार हो भन्ने लाग्छ ?

–यो राजनीतिक संस्कार होइन । यो गैराराजनीतिक कुरा हो । यस्ता कुराले न कुनै नेताको नाम माथि चढ्छ, न नेताको संरक्षण नै हुन्छ । त्यतिमात्रै होइन यसरी हुलहुज्जत गर्नेहरुले विचारकै संरक्षण पनि गर्न सक्दैनन् । मदन भण्डारीको विचार जसले बुझेकै छैन, हुलहुज्जत मात्र गर्छ अनि कसरी जोगाउँछ ? यसो गरेर मदन भण्डारीका विचार जोगिने प्रश्नै आउँदैन ।

मदनको विचार यी केटाहरुले बनाइदिएको विचार पनि होइन । मदनका समर्थक उनीहरुमात्रै हुँदा पनि होइनन् । सिंगो पार्टीले नै अपनाएको विचारबाट पोे मदन नेता भएका हुन् त । गैरराजनीतिक काम गर्ने जमातको नेता त होइनन् नि मदन भण्डारी ।

तपाईं बोल्दै गर्दा नाराबाजी भएपछि तपाईंले चाहिँ के गर्नुभयो त्यसबेला ?

–म त हेरेर बसेँ । हाँसेर बसे । अरु साथीहरुले चुप लाग्नुस् पनि भने । त्यसपछि उनीहरु बाहिर निस्के । अनि मैले मेरा कुरा सकेँ । त्यो त बैठक थियो, बैठकले आफ्नो प्रकृयाहरु अगाडि बढायो । मेरो भरतपुरमा अर्को कार्यक्रम भएकाले अबेला पनि भएको थियो र त्यतातिर निस्के । बैठक चाहिँ जारी नै थियो ।

घटनाका दोषीलाई कारवाही होला त ?

–तिनीहरु एक हिसाबले भन्दा बच्चै हुन् । जुन मान्छेलाई उचालेर त्यस्तो गैरराजनीतिक काम गरे, त्यो ज्यादै छोटो विचारको काम हो । यसले कुनै राजनीतिक जँघार तार्ने काम हुँदैन । यस्तो प्रवृत्ति जसले गर्दैछ, यसले उसैलाई नोक्सान हुने, अध्याँरो मार्ग र असफलतातिर लैजान्छ । यसले पार्टी वा एकतालाई कसैलाई पनि हित गर्दैन । त्यसकारण यस्ता प्रवृत्तिहरुलाई ठुलो रुपमा लिनु जरुरी छैन, त्यो पराजित हुनेछन् भन्ने ठान्छु ।

राजनीतिको आडमा यसरी अराजकता मौलाउनुको कारण के होला ?

–यस्ता प्रवृत्तिहरुलाई बोकेर तिमीहरु ठिक हौ भनेर उचाल्ने काम विगत केही समयदेखि हुँदै आएकोले नै यस्तो भएको हो । पार्टीमा यस्तो प्रवृत्ति जसले हुर्काउँछ, त्यसले उसैलाई पनि जोगाउँदैन । सबैलाई खान्छ ।

राजनीतक पार्टीमा किन यस्तो विश्रृंखलता आउँछ ?

–पार्टीलाई पद्दति, संस्कार, आचरण, उद्देश्य र लक्ष्यभित्र दीक्षित गरेका कार्यकर्ताहरुलाई त्यही दिशामा प्रशिक्षित गर्ने, अगाडि लैजाने जिम्मेवारी हामी बोक्दैनौँ र गैरराजनीतिक बाटो अवलम्बन गर्छौँ भने समाजमा यस्ता प्रवृत्ति हुर्कदै जान्छन् । यस्तो प्रवृत्ति बढ्दै गयो र जंगलमा डढेलो लाग्यो भने त्यहाँका कुनै पनि रुख रहँदैनन् ।

नेकपारुपी जंगलमा डढेलो लाग्न थालेको हो ?

–अर्कालाई डढाउँछु भनेर जंगलमा लगाएको आगोले आफैलाई पनि सिध्याउँछ । –रातोपाटीबाट

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ०२:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८